हिन्दु–मुस्लिम तनावको विषयलाई समेटेर बनाइएको हलिउड चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ को छायाँकन सकिएको छ । यो चलचित्रको छायाँकन नेपालमा भएको हो र चलचित्र आउँदो महिना प्रदर्शनमा आउने छ ।

यो चलचित्रमा हिन्दु पण्डितको भूमिकामा पाकिस्तानका अभिनेता हमीद शेख (जो मुस्लिम हुन्) र मुलमानको भूमिकामा बलिउड अभिनेता गुलशन ग्रोवर रहेका छन् । हमीद शेख बलुचिस्तानका बासिन्दा हुन् ।

उनी पाकिस्तान टेलिभिजन क्वेटामा कार्यरत थिए र चलचित्र ‘मोर’ मा मूख्य भूमिकामा रहेका थिए । शेखले चलचित्र ‘खुदा के लिए’ मा पनि प्रमुख पात्रको रुपमा अभिनय गरेका छन् । अभिनेताका रुपमा आफू हरेक नयाँ भूमिकामा काम गर्नका लागि तयार रहेको बताएका छन् ।

उनले भने, ‘चलचित्र मोर देखि पण्डितको भूमिकासम्म पुग्नका लागि मैले धेरै मेहनत गर्नु परेन । अभिनेताका रुपमा मेरा केही सम्झनाहरु छन् । यस्तै बलिउडका चलचित्रको प्रभाव पनि छ, हिन्दु साथीहरु पनि छन् । यसले गर्दा पण्डितको भूमिकाका लागि त्यति मेहनत गर्नु परेन ।’

अन्तरधार्मिक परिवेशमा हुर्किएकाले पनि यो भूमिका सहज भएको उनले बताए । क्वेटामा हिन्दुको मन्दिर, पारसीको बस्ती तथा धार्मिक स्थल रहेकाले सहज भएको शेखले बताए ।

पेमा डी गाक्यिलको निर्देशनमा तयार भएको चलचित्रमा नेपाली कलाकारहरु कर्मा, निर शाहसहितको पनि मुख्य भूमिका छ ।

निर्देशक पेमाको परिवार तिब्बतबाट नेपाल आएको हो, तर उनी भने अमेरिकामा अध्ययन गरेका हुन् । पेमाले आफ्नो चलचित्र कम्पनी हलिउडमा दर्ता गरेर काम गर्दै आएका छन् । यो चलचित्र अमेरिकासहित नेपाल र भारतमा पनि प्रदर्शनमा आउनेछ ।
स्रोत : बिबिसी हिन्दी

तपाईको प्रतिक्रिया