जाडोयाममा वातावरण चिसो हुने भएकाले छाला सुख्खा हुने तथा फुस्रो हुने गर्छ । समयमै उपचार नगरेको खण्डमा छाला सुख्खा भई फुट्ने तथा चिरा पर्ने गर्छ । यसबाट बच्नका लागि पनि छालालाई नरम बनाउन जरुरी छ । मानिसहरुले प्रायः मोइस्चराइजिङ क्रिमको प्रयोग जाडो महिना सुरु भएपछि मात्र गर्दछन् । तर, छालालाई नरम बनाउन पनि मोइस्चराईजर क्रिमको प्रयोग बार्‍है महिना गर्न जरुरी छ ।

यस्तै मोइस्चराइजिङ क्रिम प्रयोग गर्नु पूर्व यस्ता कुरामा ध्यान दिन जरुरी छ, जसले छालालाई भित्रैबाट नरम बनाएर छालालाई सुख्खा हुन दिदैन । किनभने कुनै पनि मोइस्चराइजिङ क्रिमले छालालाई स्वत मोइस्चराइज गर्दैन । यसको अर्थ मोइस्चराइजिङ क्रिमले कामै गर्दैन भन्ने पनि हैन । मोइस्चराइजिङ क्रिमको मुख्य काम भनेकै छालामा भएको नरमपनालाई ‘लक’ गरेर छालाको नरमपनालाई यथावत राख्नु हो । छालाको नरमपना यथावत रहेमा छाला फुट्ने, छाला निस्कने तथा पोल्ने समस्या कम हुने भएकोले पनि मोइस्चराइजिङ क्रिमको सही तरीकाले प्रयोग गर्न जरुरी छ ।

मोइस्चराइजिङ्ग क्रिम प्रयोग गर्नु पूर्व ध्यान दिनु पर्ने कुरा

– प्रत्येक मानिसको छाला भिन्नाभिन्नै किसिमको हुन्छ । कसैको छाला चिल्लो हुन्छ भने कसैको सामान्य त कसैको सुख्खा खालको हुन्छ । त्यसैले मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नु पहिले आफ्नो छालाको प्रकार अनुसार राम्रो खालको मोइस्चराइजर क्रिमको छनौट गर्नुपर्छ ।

-कुनै पनि मोइस्चराइजरको प्रयोग गर्दा छालालाई विशेष ध्यान दिनु पर्छ । उदाहरणको लागि यदी छाला चिल्लो छ भने आयल फ्री वा सामान्य मोइस्चराइजरको प्रयोग गर्नु पर्दछ । त्यस्तै, सामान्य प्रकारको छालामा सामान्य तथा सुख्खा छालामा आइल बेस्ड मोइस्चराइजरको प्रयोग गर्नु पर्दछ ।

-मोइस्चराइजर लगाउने सही समय भनेको नुहाएर पछि हो । त्यस्तै, हात मुख धोएपछि पनि मोइस्चराइजर लगाउन सकिन्छ । हात मुखको सरसफाई पश्चात्त मोइस्चराइजिङ क्रिम प्रयोग गर्नाले उक्त क्रिम छालाको भित्री भागसम्म पुगेर छालालाई नरम बनाउँछ ।

-फोहर छालामा मोइस्चराइजिङ कि्रम सिधै प्रयोग गर्नु हुँदैन । अन्यथा, फोहर तथा मैलो हातमा मोइस्चराईजर लगाउनाले पिम्पल्स आउन हुन सक्दछ ।

– मोइस्चराइजिङ कि्रममा एसपीएफ प्रपर्टी भएमा यो छालाको लागि निकै राम्रो मानिन्छ । यसले छालालाई सुर्यको हानीकाकरक विकिरणबाट सुरक्षा प्रदान गर्दछ ।

– मोइस्चराइजिङ कि्रमलाई औलाको सहायताले थोपा थोपा गरी लगाउनु पर्छ । त्यसपछि यसलाई गोलो आकारमा मसाज गरेर पूरै अनुहार तथा छालामा दल्नु पर्छ । यसले छालामा पोषण मिल्छ, जसले गर्दा छाला चम्किलाे हुन्छ ।

– मोइस्चराइजिङ क्रिमलाई अनुहार बाहेक घाँटी , हात तथा खुट्टा समेत लगाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया