मी टू अभियानपछि बलिउड कलाकार आलोक नाथमाथि मुम्बई पुलिसले बलात्कारको मुद्दा दर्ता गरेको छ ।

उनीविरुद्ध निर्देशक तथा निर्माता विन्ता नन्दाले बलात्कारको आरोप लगाएकी थिइन् । अहिले सार्वजनिक खबरहरुका अनुसार बिन्ता नन्दाले आलोक नाथलाई माफ गर्न सक्ने कुरा बताएकी छिन् ।

विन्ताले भनेकी छिन्, ‘यदि आलोक नाथले आफूले गरेको अपराधको पश्चाताप गर्छन् भने म उनलाई माफ गर्न सक्छु । म उनीसँग बदला लिन चाहन्न । मेरो उद्देश्य केवल उनलाई सुधार्नु थियो । उनलाई आफूले गरेका अपराधप्रति ग्लानि महसुस गर्नु जरुरी छ,’ उनले अगाडि बताइन्, ‘मलाई उनीबाट आगामी दिनमा उनले अरु कुनै पनि महिलाका साथ दुर्व्यवहार गर्ने छैनन भन्ने कुराको प्रतिबद्धता चाहन्छु । तर अहिले उनले यसअघि गरेका कुराहरु देख्दा ती निकै लाजमर्दा छन् । उनले लाज शरमको हद नाघेका छन् ।’

यसअघि विन्ता नन्दाले मुम्बई पुलिसमा आलोक नाथविरुद्ध उजुरी गरेकी थिइन् । प्रहरीले समेत विन्ताको निवेदन स्वीकार गरिसकेको छ ।

सिने एण्ड टीभी आर्टिस्ट्स एसोसिएशन (सिन्टा) ले पनि आलोक नाथविरुद्ध कडा एक्शन लिएको छ । सिन्टाले आलोक नाथलाई संगठनबाट निष्कासित गरिदिएको छ । सिन्टाले ट्वीटरमा आधिकारिक बयान राख्दै आलोक नाथमाथि यौन शोषण र दुव्र्यवहारका कैयौं आरोप लागेको र उक्त कुरालाई ध्यानमा राख्दै आलोक नाथलाई संगठनबाट निष्कासित गरिएको बताएको थियो ।

नन्दाले आफ्नो सामाजिक सञ्जालमार्फत आलोक नाथको घरमा आयोजित एक पार्टीमा सहभागी हुन गएका बेला आलोक नाथले उनले पिउने चिसोमा नशालु पदार्थ मिलाएर खुवाएको र घर छोड्न आएको बेला हिंसक व्यवहार देखाउँदै बलात्कार गरेको खुलासा गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया