काठमाडौं माघ १६ । नेपालमा लोक तथा दोहोरी गीत संगीतको सम्वृद्धि र नयाँ- नयाँ कलाकारहरुको जन्म स्थल दोहोरी पछिल्लो समय प्रसस्त मात्रामा आएका छन् यसरी संचालनमा आएका दोहोरी साँझ मध्य पहिलो महिला व्यवसायी नुवाकोटकी धनकुमारी थापा नै हुन् । असली नाम धनकुमारी थापा भएतापनि धनकुमारीलाई लोकदोहरी गायन तथा व्यवसायमा सरु थापाको नामले व्यापक चिन्ने गरिएको छ । यिनै गायिका सरु थापाले काठमाडौंको अति व्यस्त स्थान दरबारमार्गमा १८ बर्षअघि नै जुनकिरी लोकदोहरी सांझ खोलेकी थिइन् ।

जुन लोकदोहरी साँझलाई गायिका थापाले अहिले पनि दरबारमार्गमा निरन्तरता नै दिइरहेकी छन् । काठमाडौंको नमूना लोकदोहरी साँझ रेष्टुरेन्टको रुपमा अत्यन्त ख्याति कमाउन सफल यस लोकदोहरी साँझमा गायिका थापाले जमेर लोकदोहरी गाएर सवैको मनलाई प्रफुल्लित बनाउने कार्य गर्दैआएको पनि दशकौ भैसकेको छ । देश तथा विदेशमा ख्यातिप्राप्त लोकदोहरी गायनकी महारानी सरु थापालाई हालै देश वाहिर दुबईमा संपन्न भएको ग्लोबल मोसन पिक्चर अवार्ड नेपालको दुबई संस्करणमा सर्वोत्कृष्ट लोकदोहरी गायिकाको अवार्ड प्रदान गरिएको छ ।

दुबईमा पाएको उक्त अवार्डवाट आफूलाई यस क्षेत्रमा अझै निरन्तर कार्य गरेर नेपाली मौलिक लोकदोहरी गीत संगीतको संरक्षण र संवद्र्धनमा टेवा दिने जिम्मेवारी महशुश भएको प्रतिक्रिया गायिका थापाले दिएकी छन् । लोक संगीतको हस्ती नै मानिएकी गायिका थापा गायिका मात्र नभइ मन छुने गीतका गीतकार पनि हुन् । फुर्सदका बेला मज्जाले गीत लेख्ने अनि त्यही गीतमा लय दिएर भाका मिलाउंदै गाउने उनको बचपनको शौख पनि हो । त्यही शौखले नै उनी व्यावसायिक अनि सफल गायिका बनेकी हुन् । हालसम्म सयौं गीत उनले गाइसकेकी छन् । बाँचुञ्जेल गाइरहने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन् । हामि उनको थप सफल कलाकारिता यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

तपाईको प्रतिक्रिया