काठमाडौँ, ५ फागुन – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालले लोक तथा दोहोरी गायक पशुपति शर्माको विवादित बनिरहेको गीत ‘लुट्न सके लुट कान्छा’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गरेकाे छ। आइतबार बसेको बैठकमा उक्त गीतका विषयमा लामो छलफलपछि प्रतिष्ठानले गायक शर्मालाई यस्तो आग्रह गरेकाे हो ।

प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका गायक शर्मा पनि वैठकमा सहभागि भएका थिए। प्रतिष्ठानले जारी गरिएको प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुनः युट्युवमा राख्न सर्जक शर्मालाई आग्रह गरिएको छ।

बैठकमा गायक शर्माले गीतमा आफूले व्यक्ति विशेषको भन्दा प्रवृत्तिको विरोध गर्न खोजेको प्रस्टपारेका छन्। उनले भने, ‘म कुनै पार्टीसँग निकट र दुर छैन्, कुनै पार्टीको विरोधि पनि होइन, कसैप्रति पूर्वाग्रही भएर लेखेको थिइनँ । यस्तो विवाद आउला भन्ने अनुमान पनि भएन।’ तथापी शर्माले यो गीतलाई जस्ताको तस्तै युट्युवमा राख्ने सम्बन्धमा सोचेर निर्णय लिने बताएका छन्।

त्यस्तै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले जनमानसमा चलिरहने कुराहरुलाई लिएर शर्माले गीत बनाएको भन्दै यसमा आपत्ति जनाउने विषय नभएको स्पष्ट पारेका छन्। समाचारहरुमा, लेखहरुमा यस्ता शब्दहरु लेख्न पाइने तर गीत संगीतमा आउन नहुने भन्ने कुरा सर्वमान्य हुन सक्तैन । कसैको दबाबमा सर्जक शर्माले गीत हटाएका हुन भने प्रतिष्ठानलाई स्वीकार्य नभएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया