काठमाडौं। भारतका सिनेकर्मीहरूको संगठन ‘अल इन्डिया सिने वर्कर्स एसोसिएशन’ले सोमबार पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ। प्रतिबन्धले भारतमा बसेर भारतीय सिनेमा उद्योगमा काम गर्दै आएका पाकिस्तानी कलाकार प्रभावित भएका छन्।

जम्मु–काश्मिरको पुलवामामा आतंकवादी विस्फोटमा परी भारतीय सीमा सुरक्षा बलका ४५ बढी सैन्य जवानले ज्यान गुमाएको घटनापछि एसोसिएशनले यस्तो निर्णय गरेको हो। विस्फोटपछि यसलाई लिएर भारतमा आक्रोश चुलिएको बेलामा यस्तो निर्णय आएको हो। यसअघि पनि भारत–पाकिस्तानको सम्बन्धमा तनाव सिर्जना हुँदै यस्तो प्रतिबन्ध लाग्ने गरेको थियो।

एसोसिएशनले वर्तमान अवस्थालाई मध्यनजर गर्दै कुनै पनि पाकिस्तानी कलाकारसँग काम नगर्ने र यसलाई कडाइकासाथ लागू गर्ने निर्णय गरेको जनाएको छ। यस प्रतिबन्धको असर सिने उद्योगमा देखिन थालिसकेको छ। भारतको ठूलो म्यूजिक कम्पनीमध्येको एक ‘टि सिरिज’ले आफ्नो यूटयूब च्यानलबाट पाकिस्तान गायकहरू आतिफ असलम र राहत फतेह अली खानका गीतलाई हटाएको छ। यसैगरी अजय देवगनले आफ्नो आगामी कमेडी सिनेमा ‘टोटल धमाल’ पाकिस्तानमा रिलिज नगर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया