काठमाडौँ । बलिउडमा गत बुधबार रिलिज भएको मल्टिस्टार फिल्म कलंक बक्स अफिसमा आशा गरेअनुसार कलेक्सन गर्न असफल भएको छ । पहिलो दिन यस बर्षकै धेरै कलेक्सन गरेर रेकर्ड बनाएको कलंकको कलेक्सन त्यसपछि भने ओरालो लागेको छ । पहिलो चार दिनमा कलंकले केवल ५४ करोड ४० लाख कलेक्सन गर्दै संघर्ष गरिरहेको छ ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिज को पहिलो दिन बुधबार २१ करोड ६० लाख कलेक्सन गरेको थियो भने दोस्रो दिन विहिबार ११ करोड ४५ लाख, तेस्रो दिन शुक्रबार ११ करोड ६० लाख र चौथो दिन शनिबार ९ करोड ७५ लाख कलेक्सन गरेको छ ।

लगभग ८० करोडको लागतमा बनेको यस फिल्मले बक्स अफिसमा राम्रो सुरुवात गरेपनि सुरुका ४ दिनको कलेक्सन हेर्दा हिट हुन संघर्ष गरिरहेको देखिन्छ । विदेशमा भएको प्रदर्शनको कलेक्सन, सेटेलाइट र डिजिटल प्रसार अधिकारका कारण फिल्मले लगानी उठाउन समस्या नभएपनि भारतीय बक्स अफिसमा भने फिल्म फ्लपको सुचिमा आउने देखिन्छ ।

यस बर्ष रिलिज भएको अक्षय कुमारको फिल्म केशरीले पहिलो दिन २१ करोड ६ लाख कलेक्सन गरेको थियो भने रनबीर सिंह, आलिया भट्टको फिल्म गली ब्वायले पहिलो दिन १९ करोड ४० लाख कलेक्सन गरेको थियो । त्यस्तै टोटल धमालले १६ करोड ५० लाख कलेक्सन गरेको थियो ।

कलंकमा आलिया भट्ट, वरुण धवन, सोनाक्षी सिन्हा, माधुरी दीक्षित, सञ्जय दत्त र आदित्य राय कपूरलगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्म वरुण धवन र आलिया भट्टको अहिलेसम्मको करिअरको सबैभन्दा ठूलो ओपनर बनेको छ । यसअघि दुईको फिल्मले पहिलो दिन यति व्यापार गर्न सकेको थिएन ।

ठूलो बजेटमा बनेको यो फिल्मबाट दर्शकमा ठूलो अपेक्षा थियो । तर फिल्म विश्लेषकले भने फिल्मको खराब रिभ्यु दिएका छन् । धेरै जसो फिल्म विश्लेषकले फिल्मलाई ५ मा २ रेटिंग दिएका छन् । फिल्मले पहिलो दिन उत्कृष्ट सुरुवात गरेपनि आगामी दिनमा कलेक्सनमा असर गर्ने देखिएको छ ।

यो एक पिरियड ड्रामा फिल्म हो, जुन १९४० को ब्याकड्रपमा बनाइएको छ । फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् भने यस फिल्मलाई अभिषेक वर्मनले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया