काठमाडौं। अभिनेता आर्यन सिग्देल बुबा बनेका छन्। आर्यन शुक्रबारबाट छोराको बुबा बनेका हुन्। विवाहको पाँचौं वर्षगाँठमा अर्यनको पत्नीले छोरालाई जन्म दिएका छन्। आज भन्दा ५ वर्ष पहिला बैसाख ६ गते नै उनीहरू वैवाहिक जीवनमा बाँधिएका थिए। केही वर्ष प्रेममा रहेर आर्यन र सपनाको प्रेम विवाह भएको थियो।

आर्यनले केही समयअगाडि गर्भवती श्रीमतीसँगका केही तस्बिरहरू सार्वजनिक गर्दै नयाँ वर्षमा आफ्नो सन्तानले जन्म लिने खुलासा गरेका थिए। तर, उनको त्यसप्रकारको खुसीलाई सामाजिक सञ्जालमा भने निकै नकारात्मक टिप्पणीहरू आएका थिए। आर्यनले छोराको जन्मपछि खुसीलाई शब्दमा व्यक्त गर्नै नसकेको प्रतिकृया दिएका छन्।

परम्परा अनुसार न्वारान पछि मात्र नाम राख्ने चलन भएपनि आर्यनले भने आफ्नो छोराको नाम जन्मपूर्व नै घोषणा गरेका थिए। शुक्रबार सञ्चारमाध्यमहरुसँग कुरा गर्दै उनले भने,‘हामीले जन्म पूर्वनै नाम तयार गरेका थियौं जसअनुसार छोरा जन्मिएकाले उसको नाम ‘आयांक्स’ राख्यौं।’ जसको अर्थ भने आर्यनको एक अंश रहेको समेत आर्यनले खुलाएका छन्।

तपाईको प्रतिक्रिया