काठमाडौं। यतिबेला बलिउडका चर्चित अभिनेता सलमान खान र निर्माता तथा निर्देशक संजय लिला भंसालीको सम्बन्धबारे नयाँ प्रसंग चर्चामा छ । यी दुई नाम १९ वर्षपछि एक ठाउँमा आउँदैछन्। फिल्म ‘इंशाअल्लाह’ मार्फत्। यसका लागि पनि सजिलो थिएन। भंसालीले धेरै सोचविचार गरेर सलमानलाई यो फिल्मका लागि राजी बनाए। भने जति पारिश्रमिक दिए। नाफाको हिस्सामा पनि कुरा मिल्यो। दुःखको कुरा के भयो भने, सलमानकै कारण संजयले उहिल्यैदेखि उनलाई साथ दिँदै आइरहेका संगीतकर्मी तथा गायक अरजित सिंहलाई यही फिल्मबाट गुमाउनु पर्यो।

भारतीय मिडियाहरु भन्छन्, सलमान र अरजितको सम्बन्धको चिसोपन छाम्ने हो भने २०१३ मा भएको एउटा अवार्ड समारोहसम्म पुग्नुपर्छ। त्यो अवार्र्ड कार्यक्रममा गायक अरजितलाई सलमानले हास्यपात्र बनाउन खोजेपछि दुबै जनाबीच सम्बन्ध पातलिएको हो। सो कार्यक्रममा गायक अरजित सिंह बेस्ट सिंगर अवार्ड लिन स्टेजमा उक्लेका बेला सलमानले उनलाई ‘तिमी ढिला आयौ, निद्राबाट ब्युँझेर आएको हो कि के हो?’ भनेर प्रश्न गरेका थिए। जवाफमा जवाफमा अरजितले पनि सलमानलाई उडाउने प्रयत्न गरे। भने, ‘म सुतेको होइन तिमीहरुले सुतायौ।’

सलमानले फेरि अरजितलाई प्रहार गरे, ‘जब तिमी गीत गाउँछौ मानिसहरु सुत्न सक्दैनन्।’ अन्ततः यो नोकझोक चिसो सम्बन्धमा बदलियो। र, त्यसको प्रभाव अहिले आएर ‘इंशाअल्लाह’मा देखियो। आफ्ना प्रिय निर्मातासँग उनले काम गर्ने अवसरबाट बञ्चित हुनपर्यो।

तपाईको प्रतिक्रिया