नेपाली चलचित्र ‘हिम्मतवाली’ चलचित्रमा अभिनय गरेका सुदर्शन गौतमविरुद्ध इन्टरपोलद्वारा रेड नोटिस जारी गरेको छ । नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करीको आरोप लागेका गौतमविरुद्ध साढे ८ महिनाको प्रक्रियापछि रेड कर्नर नोटिस जारी भएको हो ।

फिल्म ‘हिम्मतवाली’ मा अभिनय गरेका गौतमलाई रेड कर्नर नोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले खोजी हुने छ । क्यानाडाको पिआर लिइसकेका गौतम अहिले क्यानाडामा बस्दै आएका छन् ।

उनीविरुद्ध दर्जनौं नेपाली युवालाई अमेरिका लैजाने भन्दै ठगी गरेको अभियोग लागेको छ । गौतमको समूहले फिल्मको सुटिङका नाममा तीन नेपाली युवतीलाई अमेरिका लान विभिन्न देश हुँदै हाइटीमा अलपत्र पारेका थिए । हाइटी हुँदै समुद्री बाटो भएर अमेरिका छिराउने योजना रहेको पानीजहाज बिग्रिएपछि उनीहरुलाइ पक्राउ गरिएको थियो । त्यसपछी अनुसन्धानकै क्रममा गौतमको संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

समुद्रमै मृत्यु भएपछि खुल्यो रहस्य : घटना दुई वर्षअघिको हो । सो समूहले तीन युवतीलाई कलाकार बनाएर हाइटी पुर्‍याएको थियो । दिल्लीबाट रसिया, स्पेन, बोगोटा, डोमेनिकन रिपब्लिका हुँदै हाइटी लगिएको थियो । हाइटीमा एक कम्पनी खडा गरी फिल्मको सुटिङका लागि भनेर उनीहरूलाई सहजै त्यहाँसम्म पु¥याइएको थियो । हाइटीबाट सामान्य किसिमको पानीजहाजमा उनीहरूले अमेरिकाको सीमामा पुर्‍याउँथे । उनीहरूलाई पनि सोही पानीजहाजमा राखियो । जसमा तीन नेपालीसहित १५ जना थिए । सबैजना सोही समूहमार्फत अमेरिका जाने प्रयासमा थिए ।

तर, समुद्रको बीचमा पानीजहाज बिग्रियो । उनीहरूसँग भएको खानेकुरा पनि सकियो । धेरै दिनसम्म समुद्रमै उनीहरूले पानीजहाजमा रुँदै बिताए । तिर्खा खप्न नसकेपछि भक्तपुरकी सुमित्रा कुँवरले समुद्रकै पानी पिइन् । सोही कारण पानीजहाजमै मृत्यु भएको थियो । केही दिनपछि सो पानीजहाज समुद्री बहावसँग बग्दै बहमास देशको किनारमा पुगेको थियो । सो देशका सुरक्षाकर्मीले पानीजहाज नियन्त्रणमा लिएका थिए । त्यहाँबाट करिब एक महिनापछि अन्य दुई नेपाली महिला फर्किएका थिए । उनीहरूकै उजुरीका आधारमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरेको थियो ।

महाशाखाले बाग्लुङका सागर श्रीस, म्याग्दीका लेकबहादुर पुन, ओखलढुंगाका अनिल बानियाँ र बाँकेका सुरज काफ्लेलाई पक्राउ गरेको थियो । उनीहरूमाथि छानबिन गर्दा सो गिरोहको नेतृत्व सुदर्शन गौतमले गरेको खुलेको थियो । उनले ६० लाख रुपैयाँ लिएको प्रमाणसम्म प्रहरीले फेला पारेको थियो । लगत्तै महाशाखाले रेड कर्नरका लागि प्रक्रिया अघि बढाएको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह गौतमको समूहले करिब ५० जनालाई अमेरिका लैजाने भनेर ठगी गरेको बताउँछन् । ‘उजुरी दिन्छु भनेपछि कतिपयको उनले पैसा नै फिर्ता गरिदिएका थिए,’ सिंह भन्छन्, ‘एक युवतीको मृत्यु भएपछि उनको धन्दा खुलेको हो ।’

महाशाखाको अनुसन्धानमा अमेरिका पठाइदिने भनेर एकैजनासँग उनको गिरोहले ४० लाख रुपैयाँसम्म लिने गरेको थियो । कलाकार बनाएर हाइटीसम्म लैजाने र त्यहाँबाट समुद्री बाटो हुँदै कतिपयलाई अमेरिकासम्म तस्करीसमेत गरिन्थ्यो । त्यसक्रममा धेरै पक्राउसमेत परेका थिए । अर्काे एक मानव तस्करीको घटनामा पनि गौतमविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जसमा उनलाई फरार अभियुक्त बनाई मुद्दा दायर गरिएको छ ।

दुवै हात नभएर पनि सगरमाथा चढेका कारण चर्चामा आएका गौतमले नायिका रेखा थापासँग मिलेर ‘हिम्मतवाली’ नामक चलचित्रसमेत बनाएका थिए । सो चलचित्रमा उनले अभिनयसमेत गरेका थिए । त्यही वेला उनीविरुद्ध ठगीसम्बन्धी उजुरी परेको थियो । त्यसयता उनी नेपाल आएका छैनन् ।

तपाईको प्रतिक्रिया