काठमाडौं। ‘तिम्रो त्यो हसिलो’, ‘प्रतिक्षा गर’, ‘बादल बनाइदेउ’ लगायत थुप्रै गीतबाट चर्चा कमाएका वरिष्ठ गायक दीपक खरेलको चौधौं एल्बम सार्वजनिक गरिएको छ।

‘माइ म्युजिकल ओडिस्सी’ नाम रहेको उक्त एल्बम आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो। एल्बममा सात वटा गीतहरु समावेश रहेको छ। सबै गीतलाई गायक खरेलले गाएका हुन्।

जसमध्ये दुई वटा गीत ‘जब जब तिम्रो सम्झना आउँछ’, ‘रोज्नुसम्म रोजे’ लाई उनकी पत्नी शीला खरेलले लेखेकी हुन्। दुवै गीतमा हरि लम्सालले संगीत भरेका छन्।

संगीतकार लम्सालकै संगीत रहेको अर्को दुई गीत क्रमशः ‘तिमीले गरेका भूलहरु’, आकाशको कालो बादल पनि यस एल्बममा रहेको छ। जुन गीतलाई राजेन्द्र रिजालः नरेन्द्र राज प्रसाइले लेखेका हुन्।

यस्तै रवि प्रन्जलले लेखेको गीत ‘पुगेथेँ म टाढा उनी सम्झी आएँ’ मा किरण श्रेष्ठ, प्रकाश सायामीले लेखेको गीत ‘तिमी गयौ मेरो जिन्दगीबाट’ मा प्रविन बराइली र डा. सनत कुमार वस्तीले लेखेको गीत ‘हर धड्कनमा सुरिलो लय होस्’ मा मनमोहन थपलियाले संगीत भरेका छन्।

एल्बम सार्वजनीकिकरणसँगै पत्रकारसँगको अन्तरवार्तामा गायक खरेलले अहिलेको नयाँ पुस्तालाई समेत मध्यनजर गरी यो एल्बम ल्याएको बताए। जसमा विश्वको कल्याण होस् भन्ने भावनाले ओतप्रोत, लभ, रोमान्टिक जस्ता गीतहरु रहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया