काठमाडौं (अस) । स्वदेशी उत्पादन प्रवद्र्धन गर्न फेडरेशन अफ बिजनेश एन्ड प्रोफेशनल वुमन नेपालको आयोजनामा यही जेठ ४ गते ‘फेशन फ्रम होम २०१९’ नामक फेशन शो हुने भएको छ ।

यसले उद्यमशील महिलालाई अझ सशक्त भएर अघि बढ्न हौसला दिने आयोजक पक्षको विश्वास छ । यसले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानसँगै संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई समेटेर अगाडि बढेको उल्लेख छ । फेडरेशन अफ बिजनेश एन्ड प्रोफेशनल वुमन नेपालकी अध्यक्ष अम्बिका श्रेष्ठले विश्वभरका १ सय १० मुलुकमा रहेको यस संस्थामा कामकाजी महिलाहरू आबद्ध हुने भएकाले देशभित्र नमूना काम गर्ने र गर्दै आएको पनि बताएकी छिन् ।

कार्यक्रममा करीब ३० ओटा हस्तकलाका स्टलमा स्वदेशी कपडा, हातबुना नेपाली पहिरन, ऊनीका सामग्री, उपहार सामग्री, स्वदेशी डिजाइनका गरगहना, नेपाली काष्ठ तथा कला–कौशलका सामग्री लगायत अग्र्यानिक खानाका स्टलहरू पनि राखिने आयोजकले बताएको छ । च्यारिटी डिनर सहितको उक्त फेशन शो कार्यक्रमले स्वदेशमै व्यवसायमा लागेका उद्यमीलाई प्रोत्साहित गर्ने आयोजकको दाबी छ ।

तपाईको प्रतिक्रिया