फिल्म क्षेत्रलाई हल्लाको क्षेत्र भनिन्छ । यहाँ सजिलै विक्ने भनेको हल्ला हो । यस क्षेत्रमा सक्रिय जो कोही हल्ला चलाउन र भ्रम फिजाउन हिचकिचाउँदैनन् । केही समययता मिडियाले बढी स्थान दिने र चासो राख्ने विषय भनेको कलाकारको पारिश्रमिक हो । पारिश्रमिकको आधारमा कलाकारको लोकप्रियता मापन गर्ने गरिन्छ । यसकारण पनि कलाकारहरु महँगो पारिश्रमिक बताएर आफूलाई शक्तिशाली प्रमाणित गर्न हानाथाप गर्छन् ।

अहिले चलेका अभिनेताले ५० लाख र अभिनेत्रीले २० लाखसम्म पारिश्रमिक डिमाण्ड गर्न र बुझ्न थालेको चर्चा छ । तर, यसलाई सत्य मान्ने कुनै आधार छैन । एग्रिमेन्टमा पारिश्रमिक एउटा हुन्छ अनि मिडियालाई बताउनका लागि कलाकारले अर्कै रेट तयार पारेका हुन्छन् । प्रायः कलाकारहरु हातमा परेको वास्तविक पारिश्रमिकभन्दा ३/४ गुणा बढाएर मिडियालाई बताउने गरेका छन् । किनकि, यहाँ कोही अरुभन्दा आफूलाई कमजोर देखाउन चाहँदैनन् ।

कति त हल्लै हल्लाले पनि महँगा भइरहेका छन् । चाँडै नाम र दाम कमाउने उद्देश्य बोकेर आउने नयाँ निर्माताहरु मिडियामा आएको समाचारलाई सत्य मान्दै कलाकारलाई जति पनि पारिश्रमिक दिन तयार हुन्छन् । २ लाख हात पर्न नसकिरहेको अवस्थामा भ्रामक समाचार फैलाएको भरमा वास्तवमै २० लाख अफर हुँदा को कलाकार नलोभियोस् ? एउटा फिल्म बक्सअफिसमा राम्रो चल्यो भने त झन् अरु के चाहियो । आधा करोड नै डिमाण्ड गर्न थाल्छन् ।

अपवाद बाहेक प्रायः नेपाली कलाकारमा आफूले कति पारिश्रमिक ‘डिजर्भ’ गर्छु भन्ने ज्ञान र चेत छैन । अहिले चलेका अभिनेताले ५० लाख र अभिनेत्रीले २० लाखभन्दा बढी डिमाण्ड गर्न थालेपछि निरन्तर फिल्म निर्माण गरिरहेका फिल्मकर्मीहरुले नेपाली कलाकारमा मानवता हराएको आरोप लगाउन लागेका छन् । कलाकारमा मात्र ६०/७० लाख खर्च गर्नुपर्दा दर्शकले राम्रो फिल्म हेर्न नपाएको पनि कतिपयको टिप्पणी छ । तर, यसको कुनै मतलब छैन नेपाली कलाकारलाई ।

कलाकारको पारिश्रमिककै कारण फिल्म निर्माण महँगो भइरहेको बहस चलिरहेको अवस्थामा अभिनेत्री आँचल शर्मा पारिश्रमिकमा होडबाजी गर्नु राम्रो नभएको तर्क राख्छिन् । केही दिनयता यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दाल भात तरकारी’ को प्रचारमा व्यस्त उनी देखासिखीको भरमा कलाकारहरुले पारिश्रमिक वृद्धि गरिरहेको बताउँछिन् । २ लाख लिएर १०/१५ लाखको डंका फुक्ने कलाकारहरु पनि आफूले धेरै देखेको उनी सुनाउँछिन् ।

कलाकारको बढ्दो पारिश्रमिकलाई लिएर एक अन्तर्वार्तामा उनले भनिन्, ‘म पनि २ लाख लिएर १० लाखको धाक लगाउन सक्छु । तर, म त्यसो गर्दिनँ । किनकि, मेरो भ्यालु कतिसम्म छ त्यो मलाई थाहा छ ।’ कलाकारले लिने पारिश्रमिक गोप्य हुनुपर्ने पनि उनको भनाई छ । आँचल अगाडि भन्छिन्, ‘अहिले कलाकारबीच पारिश्रमिक कसले बढी लिने भन्ने नराम्रो होडबाजी चलेको छ । यसले कसैलाई फाइदा गर्दैन ।’ उनले कलाकारलाई घाँटी हेरी हाड निल्न सुझाइन् ।

तपाईको प्रतिक्रिया