काठमान्डौ बैशाख २२ – गीतकार आनन्द राज खनालको गीतिसंग्रह “तिम्रो साथ” को हिजो वैशाख २१ गते शनिवार विमोचन सम्पन्न भएको छ । नेपाल सरकारका पूर्व सचिव तथा निवार्चन आयोगका प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलिया ज्यूको प्रमुख आतिथ्यता र वरिष्ठ गीतकार प्राध्यापक डा. श्री कृष्णहरि बराल ज्यूको विषेश आथित्यता साथै वरिष्ठ संगीतकार तथा रोयल्टी संकलन समाज नेपालका अध्यक्ष श्री महेश खड्का ज्यूको उपस्थितिमा सो गीती संग्रहको विमोचन कार्यक्रम सम्पन्न भएको हो ।

सोही कार्यक्रममा यसै गीति संग्रहमा आफ्नो स्वर र संगीत दिनुभएका श्रष्टाहरू संगीता राना प्रधान, सरिता मिश्र, आशिष अविरल, भरत सिटौला र बानिका प्रधानको उपस्थिति रहेको थियो । यस गीति संग्रहमा-तिमीलाई मन पराएँ, बोल्न मन लाग्दो रैछ, सम्झनामा नआऊ तिमी (महिला तथा पुरुष आवाजमा),मनै लोभ्याउने गरी ५ वटा गीतहरु समावेश छन् | यो गीति संग्रहको बजार व्यवस्थापन बिन्दवासिनी म्युजिक प्रा. ली. ले गरेको छ ।

तनहुँ जिल्लाको दमौलीमा जन्मे हुर्केका आनन्द राज खनालले कक्षा सात सम्मको शिक्षा दमौलीबाटै प्राप्त गरे पनि त्यसपछि आइ एस्सी सम्मको शिक्षा भने काठमाडौबाट पुरा गरेका हुन् । बिद्यालय पढ्दा उनी कहिल्यै दोस्रो भएनन् । आइ एस्सी मा बोर्ड फिफ्थ । घरमा भएको सानो रेडियोबाट मान्छेको आवाज कसरी आउँछ ?, टेलिभिजनमा मान्छे नै देखिने गरि श्रव्यदृष्य सामाग्री कसरी आउँछ ?, टेलिफोनमा मान्छेले कुरा गरेको त्यति टाढा कसरी सुनिन्छ ? यस्ता प्रश्नले उनको मथिङ्गल हल्लियो।पछि थाहा पाए त्यो बुझ्न र त्यस्तै बनाउने जान्न ईलेक्ट्रोनिक्स कम्युनिकेसन इन्जिनियरिङ्ग पढ्नु पर्छ । उनको मनमा त्यो कुरा गहिरो गरि बस्यो ।

पाकिस्तान सरकार को छात्रवृत्ति पाएर पहिला उनी पाकिस्तान गए । बीच मै छाडेर कोलम्बो प्लानको छात्रवृत्तिमा ईलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ पढ्न उनी भारतको कर्नाटका गए । अध्यापन उनको रुचि र अनुरागको विषय थियो । सन् १९९६ मा स्नातक गरेका खनालले काठमाडौ विश्वविद्यालयमा अध्यापन शुरु गरे।काठमाडौ विश्वविद्यालय कै छात्रवृत्ति पाएर अन्ना विश्वविद्यालय चेन्नई बाट अप्टिकल कम्युनिकेसनमा स्नातकोत्तर गरे । कानुनको स्नातक(एल एल बी) मा खनाल गोल्ड मेडलिस्ट हुन् । सन् १९९७ देखि विश्वविद्यालयहरुमा निरन्तर अध्यापनमा संलग्न खनाल हाल नेपाल दूरसंचार प्राधिकरणमा वरिष्ठ निर्देशक छन् ।

उनी सूचना तथा संचार प्रविधि क्षेत्रमा नीति,कानुन,नियमन-प्रारुप निर्माण, समग्र सामाजिक आर्थिक विकासका लागि प्रविधिको प्रयोगको क्षेत्रमा राष्ट्रिय, क्षेत्रीय र अन्तरास्ट्रिय मञ्चहरुमा क्रियाशील छन् । कामको शिलशिलामा धेरै मुलुकमा भएका कार्यक्रममा उनले कार्यपत्रहरु प्रस्तुत गरेका छन्| वक्ताका रुपमा वा कुनै शत्रको अध्यक्ष भएर वा प्यानल मोडरेटरको रुपमा वा प्यानलिस्ट –उनी राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुमा बिबिध भुमिकामा रहन्छन् । उनको दक्षता,विज्ञता साथै यस क्षेत्रको समग्र विकास प्रतिको लगन,प्रतिबद्धता र योगदानलाई कदर गर्दै विश्व दुर संचार विकास सम्मेलनले उनलाई सन् २०१४ मा अन्तर्राष्ट्रिय दूरसंचार संघको विकास व्युरो अन्तरगत अध्ययन समुहको उपाध्यक्षमा चुनेको थियो भने सन् २०१७ मा त्यसै पदमा उनी पुन छानिएका छन् ।

उनलाई संयुक्त राष्ट्र संघका महासचिवले सन् २०१९ का लागि ईन्टरनेट गभर्नेन्स फोरमको बहु सरोकारवाला समुहको सदस्यमा नियुक्त गरेका छन् । दक्षिण भारतको लामो बसाइ संगै उनले पूर्वीय दर्शन र अध्यात्मको जानकारी मात्रै लिएर आएनन् त्यस प्रतिको गहिरो रुचि र अनुराग पनि संगै लिएर आए । विभिन्न सद गुरु हरु बाट ध्यान सिकेका खनाल पछिल्लो समयमा बौद्धिक र मानसिक रुपमा काम,क्रोध,लोभ, मोह, मद ,मात्सर्य जस्ता मानवीय गुणबाट पार नपाउँदा सम्म आँखा चिम्लेर ध्यान गर्नुको अर्थ नभएको निष्कर्षमा पुगेको बताउँछन् । हरपल सचेत भएर सांसारिक अनित्यताको वोध गर्दै निमित्त भावले आशक्तिरहित कर्म गर्नाले सुख मिल्ने उनको अनुभव छ।यही कुरा कक्षा कोठामा वा छलफल हुँदा भन्ने गर्छन् ।

खनालको सुचना तथा संचार प्रविधि,सहित्य,संगीत, पूर्वीय दर्शन र अध्यात्म जस्ता विविध विषयमा उनका धेरै लेख रचनाहरु प्रकाशित छन् । प्रत्येक दिन आफ्नो फेस बुकमा भगबद्गीताको एक श्लोकको भावार्थ अनुवाद गरी पोष्ट गर्दै गर्दा यही दुइ वर्ष मा उनले पुरै गीता अनुवाद गरी सकेका छन् भने अब उपनिषद को अनुवादमा लागेका छन्| उनले गीत लेख्न थालेको भने धेरै भएको छैन ।करिब दुई वर्ष अघिदेखि मात्र उनको यस क्षेत्रमा प्रवेश भएको हो। प्राध्यापक डाक्टर कृष्ण हरि बराल लिखित –“गीत कसरी लेख्ने” पुस्तक प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा देखेर किनी गीत लेख्न हौसिएका खनालले आशिष अविरलले संगीत गरेको पहिलो गीत “तिमीलाई मन पराएँ” रेकर्ड भए पछि पछाडि फर्केर हेरेनन् ।

कोर्दै गए । सिक्दै,लेख्दै गर्दा २०० भन्दा बढी गीत रचना गरी सकेका खनालको यो पहिलो गीति संग्रह हो । यस संग्रहमा उनको पूर्ण आस्था र प्रेममा समर्पित गीत देखि वियोग झल्काउने, र अप्ठेरो परिस्थितिमा गरिने प्रेम सम्मका गीत संग्रहित छन् । कयौं श्रोताले उनका गीतमा आफ्नो अनुभुति समेटिएको अनुभव गरेका छन् । यी गीतका शब्द, संगीत र संगीत संयोजन तथा गायकीबाट यो गीतकारको पहिलो गीति संग्रह हो भनेर पत्यार नलाग्न सक्छ।यस अर्थमा गीतकार सफल देखिन्छन् । उनलाई हाम्रो तर्फबाट हार्दिक बधाई तथा आगामी गीति यात्राका लागि शुभकामना ।

एल्बम भित्रको एक गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया