काठमाडौं । राई इज किङ्ग उपनामले ख्याती कमाएका गायक राजेश पायल राईलाई गृह जिल्ला खोटाङमा एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ । गायनमार्फत खोटाङलाई देश तथा विदेशमा चिनाएको भन्दै गायक राईलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

खोटाङको बुइपामा जन्मिएका भर्सस्टाईल गायक राजेशपायलाई गृहनगर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुधबार नगद सहित सम्मान गरेको हो ।

गायनको माध्यमबाट नगरपालिका तथा जिल्लालाई देश(विदेमा चिनाएको भन्दै गायक राजेशपायललाई उक्त राशीको ‘नगर पुरस्कार’ प्रदान गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए । गायक राजेशपायललाई बुधबार आयोजना गरिएको दोस्रो नगर दिवसको अवसरमा पुरस्कृत तथा सम्मान गरिएको हो ।

नगर दिवसको अवसरमा उपस्थित हुन नसकेका गायक राजेशपायललाई विशेष कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिने जनाइएको छ । नगर दिवसको अवसरमा अन्य विविध विद्याका उत्कृष्ट व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिएको छ ।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उद्घाटन कार्यक्रममा नगरले वर्षभरि गरेको विकास(निर्माण लगायत विभिन्न गतिविधिका विषयमा समेत समिक्षा गरिएको छ । कार्यक्रममा पूर्व सभाषदद्वय समिता कार्की ‘अस्मिता’, पाँचकर्ण राई ‘पिके’, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, अन्य जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय लगायतका सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया