काठमाडौं । एकपछि अर्को ब्लकबस्टर चलचित्र दिएकी निर्देशक तथा कलाकार दीपाश्री निरौलालाई दर्शकले आइटम गीतमा देख्ने भएका छन् ।

विकासराज आचार्यको निर्देशन रहेको चलचित्र ‘हजार जुनीसम्म’को ‘आज नगद भोली उधारो’ बोलको गीतमा दीपाले आइटम नृत्य गरेकी हुन् ।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्री स्वयंमको स्वर छ ।

यो गीतमा नृत्य गर्दै गरेका केही तस्वीर चलचित्र युनिटले सार्वजनिक गरेको छ । जहाँ दीपासंग चलचित्रका मुख्य अभिनेता आर्यन सिग्देललाई देखिएको छ । साथमा शिवहरी पौडेल पनि देखिएका छन् ।

निर्माण युनिटका अनुसार गीतमा दीपाले ‘भट्टी साहुनी’को रुपमा आइटम नृत्य गरेकी हुन् । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । यो गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, उत्तम केसी लगायतलाई पनि देख्न सकिने निर्देशक आचार्य बताउँछन् ।

केही दिनमा भिडियो सार्वजनिक गर्ने निर्माण युनिटको तयारी छ ।

सामिप्यराज तिमिल्सिनाको पटकथा रहेको ‘हजार जुनीसम्म’को आउँदो भाद्र ६ गतेलाई रिलिज डेट तय गरिएको छ । चलचित्रमा संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ ।

चलचित्रमा उदयराज सोताङ्ग, राजनराज शिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी चलचित्रकी कार्यकारी निर्माता हुन् भने विशाल चाम्लिङ निर्माता हुन् ।

तपाईको प्रतिक्रिया