काठमाडौं । गायिका इन्दिरा भट्टराईको तीज गीत ‘नाचौँ मितिनी’ विमोचन गरिएको छ । विहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी गीतको विमोचन गरिएको हो ।

वरिष्ठ गीतकार तथा कवि दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका उपसचिव जनार्दन बडाल, संगीतकार सन्तोष श्रेष्ठ, रंग पत्रकार शान्ति प्रिया, फिल्मी पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, गायक सिताराम पोखरेल, गायक राज सागर, निर्माता निर्देशक माधव खरेल, प्यासेन नेपालकी सिइओ ममता बस्नेत लगायत विभिन्न सांगीतिक क्षेत्रका व्यक्ति तथा विभिन्न सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै दिनेश अधिकारीले आफुले लेखेको गीतले सार्थकता पाएको उल्लेख गरे । गीतमा मौलिकता झल्किएको उल्लेख गर्दै पछिल्लो सयम बजारमा आएका कतिपय गीतहरुमा मौलिकता हराएको बताए । त्यसैगरी कार्यक्रममा बोल्दै संगीतकार सन्तोष श्रेष्ठले कतिपय तीज गीत नाममात्रका तीज गीत भएको उल्लेख गर्दै गायिका इन्दिरा भट्टराईको गीत ‘नाचौं मितिनी’ बोलको गीतमा तीजका मौलिक शब्द देखि भिडियोमा समेत मौलिकपन झल्किएको बताए ।

त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका उपसचिव जनार्दन बडालले तीजको विशेषता माथि प्रष्ट पार्दै गीत राम्रो बनेको बताए । उपसचिव बडालले गीत समग्रमा राम्रो बनेको र गीतमा समावेश गरिएका शब्द, भिडियो निर्देशन तथा गायनमा मौलिकतापन झल्किएको बताए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै रंग पत्रकार शान्ति प्रियाले विकृतिमुलक गीत नभएको उल्लेख गरे । गीतमा समाबेश गरिएको मौलिक शब्दहरुको तारिफ गर्दै तीजको माहोलमा यस गीतले छुट्टै पहिचान दिनेमा आफु विश्वस्त रहेको उल्लेख गरे ।

गायिका इन्दिरा भट्टराईको स्वरमा सजिएको तीज गीत ‘नाचौं मितिनी’ बोलको गीतमा वरिष्ठ गीतकार तथा कवि दिनेश अधिकारीको शब्द रहेको छ । त्यसैगरी सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतलाई सुदिप सागरले एरेन्ज गरेका हुन । इन्दिराज म्युजिक इन्टरटेमेन्टको प्रस्तुती रहेको तीज गीत नाचौं मितिनीको म्युजिक भिडियोमा चर्चित मोडल सम्झना बुढाथोकी र नितु कोइरालालाई फिचरिङ गरिएको छ । सम्झना बुढाथोकीको निर्देशनमा तयार गरिएको गीतको भिडियोलाई भागीरथ गाहाले छायाँकन गरेका हुन् ।

लामो समयदेखि साङगीत क्षेत्रमा अनवरत रुपमा लागि पर्दै आएकी गायिका इन्दिरा भट्टराईले दर्जनौ गीतहरु गाइसकेकी छन् । गायिका भट्टराईका गीतहरुमा विशेषगरी मौलिकपन झल्किने गरेका छन् । जसका कारण गायिका भट्टराईका गीतहरु लोकप्रिय बन्दै गएका छन् ।

कार्यक्रममा बोल्दै गायिका भट्टराईले आफु धेरै अगाडिदेखि साङ्गीतिक क्षेत्रमा लागेपनि बीचको समयमा आफु सामाजिक काम तर्फ लागेको र पुन आफु साङ्गीतिक क्षेत्रमा आएको उल्लेख गरिन् । गायिका भट्टराईले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिँदै गीत हेरेर कमेन्टमा सुझाव गर्न सबैलाई आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया