काठमाडौं। शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘मारुनी’को वर्ड अफ माउथ राम्रो छ।

चलचित्र हेरेका दर्शक, कलाकार तथा सञ्चारकर्मीले चलचित्रलाई राम्रो भनेका छन्। आईतबार राजधानीमा आयोजित चलचित्रको विशेष शोमा उपस्थित कलाकारले फरक कन्टेन्टमा उत्कृष्ट चलचित्र बनेको बताए।

अभिनेता भुवन केसीले एउटा च्यालेन्जिङ कन्टेन्टमा राम्रो चलचित्र बनेको बताए। उनले भने, –‘यो च्यालेन्जिङ कन्टेन्ट हो। ठूलो बजेटको प्रतिक्षित बलिउड चलचित्रको मारमा पाउनुपर्ने हाइप लिन अप्ठयारो परेको होला तर कन्टेन्टको विश्वासको कारण बलिउड चलचित्रसंग निर्माता/निर्देशक भाग्नुभएन्। चलचित्र राम्रो बनेको छ। दर्शकलाई हेर्न आग्रह गर्छु।’

निर्माता, निर्देशक तथा कलाकार अशोक शर्माले पावरफूल विषयवस्तुमा चलचित्र बनेको बताए। कलाकार, निर्देशकको काम राम्रो रहेको उनले बताए।

अभिनेता पल शाहले चलचित्र हेरिसकेपछि आफूलाई कथावस्तु, उठान गर्न खोजेको बिषय र कलाकारको अभिनय उत्कृष्ट लागेको प्रतिक्रिया दिए।

अभिनेत्री केकी अधिकारीले त चलचित्रमा आफूलाई किन अफर गरिएन भन्ने लागिरहेको बताइन्। उनले भनिन् ‘मैले नवल दाईसंग शुरुवाती दिनमै काम गर्ने अवसर पाए। उहाँसंग २ वटा चलचित्रमा काम गरेकी छु। यो चलचित्र हेररहँदा पनि मैले आफूलाई अटाउने एक/दुईवटा ठाउँ देखेकी छु।’ उनले भनेकी छन् ‘चलचित्र हेरेपछि एउटै चिजको दुःख लाग्यो, म यो चलचित्रमा किन छैन् ?’

उनले आफूलाई चलचित्रमा किन नलिएको भनेर निर्देशकसंग कुरा गरेको समेत बताइन्। उनले ‘मारुनी’हेर्न पाउँदा अत्यन्तै खुःसी लागेको बताइन्।

अभिनेत्री वर्षा राउत, रीमा विश्वकर्मा, निर्देशक विशाल भण्डारी लगायतले चलचित्रको कथावस्तु, कलाकारको अभिनय र मेकिङलाई उत्कृष्ट बताएका थिए। रीमाले त आफूलाई यस्तै चलचित्रमा काम गर्न मन लागेको बताइन्।

पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ लगायतको मुख्य भूमिका रहेको चलचित्रलाई पूनम गौतमले निर्माण गरेकी हुन्।

तपाईको प्रतिक्रिया