काठमाडौं । १२ वर्षमा खोलो पनि फर्किन्छ भन्छन्। हो, लोकगायक रामप्रसाद खनाल अमेरिका छिरेको ठ्याक्कै १२ वर्ष भयो। अब उनले नेपाल बसाइ विस्तारै बढाउने भएका छन्। उनको बसाइ अमेरिकामा छ तर मन भने पूरापूर नेपालमै। मातृभूमिको मायाले उनी अब यताको बसाइ लम्ब्याउने योजनामा छन्।

यसपालि ६ साता बसेँ उनी काठमाडौं। निहुँ थियो, अमेरिकामै इन्जिनियर कोर्स भर्खरै सकाएका छोराको व्रतबन्ध। आफ्नो काम सकेर छोरो अमेरिका उडी पनि सकेका छन्। तर खनाल अल्झिए, आफ्नो पुरानै रुचिको विषयमा। ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेझैं छोराकोे व्रतबन्धका लागि आएका खनालले यसपालि तीन वटा गीत रेकर्ड गर्न भ्याए। ‘दुलहा दुलही’ र ‘घरघरको कहानी’ दुईवटा गीत त युट्युबमार्फत रिलिज पनि भइसके।

अमेरिका बसेको भन्नु मात्रै, नेपाली लोकगीत, संगीतको जगेर्ना गर्नुपर्छ भन्ने मनले सधैं कुत्कुत्याइरहन्छ उनको। गएको वर्ष मात्रै उनी तीन पटक नेपाल आए। ११ वटा गीत रिलिज गरे। दुईवट पुस्तक पनि प्रकाशित गरे। उनका हालसम्म १७ पुस्तक बजारमा आएका छन्।

अमेरिकामा आफ्नै ग्यास स्टेसन, सुपरमार्केट छ उनको। जसमा परिवारका सदस्यबाहेक ३५ जनाले रोजगारी पाएका छन्। नेपाल छँदै अढाइ दशक छापा, रेडियो, टेलिभिजन पत्रकारिता गरेका रामप्रसाद व्यवसायबाट समय निकालेर अमेरिकामा अनलाइन पनि चलाइरहेका छन्। नेपालमडरडटकमको प्रधान सम्पादक छन् उनी। यति व्यस्तताका बाबजुद पनि उनको गीतसंगीतको यात्रा जारी नै छ। सीडी, भीसीडी, डीभीडी गरी उनका ४० वटा एल्बम नै भइसके। १२ सय गीत गाइसके। त्यत्तिकै संख्यामा गीत, कविता पनि सिर्जना गरेका छन्।

सानो छँदाको कुरा सम्झिन्छन् खनाल। बाहुनको छोरो। ‘सबै काम गरेस् बाबै, यो गाउने बजाउने चाहिँ नगरेस्।’ आमाले भनेका यी वचन उनलाई अहिले पनि सम्झना छ। तर ती उहिलेका कुरा खुइले भइसके। सानैदेखि आमा बाबाको आँखा छलेर मादल बजेको ठाउँमा बुर्कुसी मार्दै दौडिने खनाल अहिले गीतसंगीतबाटै चिनिन्छन्।अहिले उनकी बूढी आमैले सोध्ने गरेकी छिन् रे, ‘खै बाबु तेरो नयाँ गीत अब कहिले आउँछ हँ ?’

युट्युबको जमानामा गीत सुन्नेभन्दा हेर्ने बढ्ता भएको छ। तर परिवारसँग बसेर हेर्न नसकिने गीत पनि आइरहेका छन्। पश्चिमा देशमा कुटो कुम्लो बिसाएका खनाल भन्छन्, ‘मेरा गीत घरका सबै सदस्यसँगै बसेर सुन्न हेर्न सकिने बनाएको छु। कुनै गीत उत्ताउला छैनन् मेरा।’

गुल्मीको धरमपानीमा जन्मिएका रामप्रसादले नेपालमा छँदा जसरी गुल्मेली लोकभाकाको सुवास देशको कुनाकाप्चामा छरे। अब त्यही सुवास अन्तर्राष्ट्रिय फोरममा छर्दैछन्। अमेरिका छँदै उनका नौ वटा एल्बम निस्किएका छन्। संयुक्त राष्ट्रसंघको फोरममा पनि उनका लाइभ गीत गुञ्जिएका छन्। अमेरिकामा सन् २००८ बाट ग्रिन कार्ड होल्डर भएपछि उनले सोही वर्ष ‘अन्तर्राष्ट्रिय कलाकार मञ्च’ स्थापना गरे। उनी अहिले पनि सो मञ्चको अध्यक्ष छन्। यसको सञ्जाल ३३ देशमा फैलिएको छ। वासिंगटन डीसीस्थित ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ को दुई कार्यकाल उनी अध्यक्ष रहिसकेका छन्।

अमेरिकामा तीज महोत्सव

अहिले तीजको माहोल छ। गायकगायिका तँछाडमछाड गरी तीजको गीत रिलिज गरिरहेका छन्। २०५४ सालमै तीजको गीति एल्बम ल्याएका थिए, रामप्रसाद खनालले पनि। सोही गीतलाई परिमार्जन गरी गएको वर्ष ‘मेरा बूढा झर्के’ तीजको गीत ल्याएका थिए उनले। यो निकै लोकप्रिय पनि रह्यो। यस वर्ष उनलाई तीजको गीत ल्याउन जाँगर लागेन। तर अमेरिकामा तीजलाई महोत्सवकै रूपमा मनाउने श्रेय भने उनलाई नै जान्छ। खनाल भन्छन्, ‘वासिंगटन डीसीमा अहिले तीज सबैभन्दा ठूलो महोत्सवको रूपमा स्थापित भएको छ। यसमा चार हजार नेपाली जम्मा हुन्छन्।’ यस वर्ष मनाइने तीजका लागि तयारी सुरु हुन थालेको छ।

थुप्रै देउसीभैलोका एल्बम पनि निकालेका खनालले अमेरिकामा पनि देउसी स्थापित गरेका छन्। व्यस्तताका बाबजुद तिहारको एक दिन त्यहाँ देउसी खेलिन्छ। भट्ट्याउने खनालबाहेक अरू को हुनु ? दसैंको नियास्रो मेट्न अमेरिकामै सामूहिक टीका थाप्ने चलन बसालिएको छ। नेपालमा छँदा पशुपतिको दर्शन प्राथमिकतामा पथ्र्याे खनालको। अहिले भने अमेरिबाट आएपछि पशुपति पुग्नु तालिका अनिवार्य भएको छ। अमेरिकामा पनि पशुपतिको नियास्रो मेट्न उपाय निकाले, खनालले। त्यहाँ शिवरात्रिमा भजनकीर्तन पनि गरिन्छ। थुप्रै भजनका एल्बम पनि निकालेका खनालले भजनको चुड्का सुसेलेपछि भक्तहरू हरिहरि भन्दै उनको स्वरमा स्वर मिलाउन थालिहाल्छन्। खनालले आफ्नो अगुवाइमा अमेरिकामा एक प्रकारको सानो नेपाल नै बनाएका छन् भन्दा फरक परोइन।

राजधानी मात्रै होइन, अहिले नेपालका सबैजसो सहरमा लोकदोहरी रेस्टुुरेन्ट स्थापित भएका छन्। रेस्टुुरेन्टमा लोकदोहोरी घुसाउने श्रेय पनि खनाललाई नै जान्छ। त्यसबेलाको एक मात्र रेडियो नेपालमा कार्यक्रम प्रस्तोता, उत्पादक भएर उनले लोकदोहोरीलाई छुट्टै चिनारी दिएका थिए। त्यसकै लोकप्रियताले उनलाई नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोता, उत्पादक भएर काम गर्ने अवसर जु¥यो। पछि त टेलिभिजनको बोर्ड सञ्चालकसमेत भए उनी। केही होटल व्यवसायीलाई उनले प्रस्ताव राखे, ‘रेस्टुरेस्टमा दोहोरी सुरु गरौं। यसले तपाईंको व्यवसाय पनि फस्टाउँछ, कलाकारले पनि काम पाउँछन्।’ उनको प्रस्ताव मानेर केही लोकदोहोरी रेस्टुुरेन्ट खुले। पछि त लोकदोहोरी रेस्टुुरेन्ट खोल्ने लहर नै चल्यो। स्वाभाविक नै थियो, थुप्रै लोकदोहोरी रेस्टुुरेन्टको उद्घाटन गर्न प्रमुख अतिथिको रूपमा उनै खनाल गए। एक्लै गाउने त धेरै हुन्छन् तर गायनलाई संस्थागत गर्ने खनाल जस्ता अभियन्ता कमै हुन्छन्। जुन कर्म उनी पाताल प्रवासमा पनि गरिरहेका छन्।

खनाललाई २०४२ सालमै रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि संसारै जितेजस्तो लागेको थियो। तर सबैभन्दा बढ्ता थकथकी आफ्ना रेकर्ड भएको गीत जोगाउन नसकेकोमा लाग्छ। स्पुल टेपमा उतारिएका थिए, रेडियो नेपालका गीत। भीएचएस र बेटाक्याम प्रविधिमा उतारिएका थिए, नेपाल टेलिभिजनका गीत। यी गीत कम्प्युटराइज्ड हुन सकेनन्। त्यसैले उनका सयौं गीत ओझेलमा छन् अहिले। भन्छन्, ‘अहिले त अर्थ न बर्थका गीत पनि युट्युबमा हाइलाइट भइरहेका छन्।’

आफू यात्राको जंघार तर्दै गर्दा भरथेग गर्ने अर्को यात्रु आइपुगे जो कोही यात्रु फुरुंग पर्छ। खनाल पनि फुरुंग छन् जंघार तर्ने लौरीको रूपमा आफ्नै परिवारको सदस्य पाउँदा। अमेरिकामा क्लिनिकल साइक्लोजी अध्ययनरत उनकी छोरी सुष्मा खनालले बाबुको बिँडो थाम्दैछिन्। गायनदेखि नृत्यमा पनि उनको प्रतिभा प्रस्फुटन भएको छ। ट्विटरमा बाबुभन्दा बढ्ता उनका फलोअर्स छन्। अन्नपुर्णाबाट साभार गरेका हाै ।

तपाईको प्रतिक्रिया