पछिल्लो समयकी व्यस्त नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह। युवा पुस्तामाझ रुचाइएकी साम्राज्ञीको अभिनय रहेको फिल्म ‘रातो टीका निधारमा’ गत शुक्रबारबाट प्रदर्शनमा आएको छ। फिल्मले दसैंंकै माहोल र महिला सशक्तिकरणको कथा बोल्छ।

दसैंसम्बद्ध फिल्ममा अभिनय गरेकी साम्राज्ञीका दसैं किस्सा के–के छन् त? बाल्यकाल, दसैं योजना र दसैं किस्सा उनी कसरी सम्झन्छिन्? यिनै विषयमा रहेर साम्राज्ञीले नेपालन्युजसँग गरेको दसैं विशेष कुराकानी:

दसैं भन्ने शब्द सुन्नसाथ मस्तिस्कमा के आभास हुन्छ?

वीरगञ्जको हाम्रो सम्झना होटेल, जहाँ काम गर्नेहरू, मेरो दिज्युहरू अनि साना–साना बच्चाहरूको याद आँउछ। रातो टीका लगाएर दौडिएको सम्झन्छु। त्यतिबेला टीका लगाउँदा नयाँ लुगा नै पुरै रङ्ग लागेर फोहोर भएको हुन्थ्यो। दसैंले यस्तै–यस्तै खास कुराको याद गराईदिन्छ।

बच्चा बेलामा कति चकचके हुनुहुन्थ्यो?

बच्चा बेलामा मेरो नामै लाटी पुतली राख्नु भएको थियो। ठूलो मामुले त अहिले पनि मलाई लाटी पुतली भन्नुहुन्छ। सानु हुँदा ममी पापालाई छलेर, टुल राखेरै भए पनि चुकुल खोल्थ्यौं, अनि, खेतमा खेल्न जान्थ्यौं।

मेरो बिहानको ड्युटी भनेकै खेतमा दौडने हुन्थ्यो। अझ रमाइलो क्षण त, पापाको गोजीबाट १०/२० रुपैयाँ खुसुक्क झिक्ने अनि खेत पर–परका साना पसलमा चकलेट किन्ने, रमाइलो गर्ने, यी कुरा चाहिँ मेरो बालापनका स्मरण हुन्।

samragyee inside photo 1 1

२०/५० रुपैयाँ दक्षिणा पाउने समय ४ हजार पाउँदा म त मख्खै भएकी थिएँ।
सानो छँदा दसैंमा टीका लगाएको, दक्षिणा पाएका पल कतिको यादगार छन्?

अहिले म आफैं कमाउन सक्ने भएँ त्यसैले जति बेला मन लाग्छ त्यतिबेला सपिङ गर्न जान्छु। तर बच्चा बेलामा नयाँ लुगा भनेर डेडिकेट गर्ने दिन भनेकै दसैं हुन्थ्यो। रातो फ्रक अनि त्यस्तै कपडा तिनीहरू अहिले पनि सम्झन्छु।

त्यो समय लाग्थ्यो कहिले दसैं आउछ होला, कहिले मामुसँग नयाँ जुत्ता, झोला किन्न जाने होला भनेर। अझ, झोला किन्न मज्जा आउथ्यो। किनकि कुन झोला किन्दा चाहिँ धेरै दक्षिणा राख्न पाइन्छ भनेर म आफैं रोज्थें।

दक्षिणाको कुरा गर्दा हाम्रो परिवार नाता–गोता अलि धेरै। दक्षिणा पनि धेरै नै हुन्थ्यो। अझ दक्षिणा दिएको खाम त कति हो कति। त्यो बेला १०,१५ वा २० यस्तै हुन्थ्यो दक्षिणामा। तर, त्यो थोरै रकम भए पनि कति वटा पाइयो भनेर, वान टु भन्दै गन्न मज्जा आउथ्यो।

दक्षिणा पाएपछि अरुलाई गफ लगाउन झन् मज्जा आउने। ‘मसँग यति धेरै छ’ भनेर धाक लगाउन खुब आनन्द हुन्थ्यो। तर, म अन्तमा जति दक्षिणा भए पनि ममीलाई नै दिन्थेँ।

दक्षिणाको उत्साह कतिको हुन्थ्यो?

ओहो! त्यो बेला दक्षिणाजस्तो ठूलो कुरा त केही पनि हुँदैनथ्यो। नयाँ लुगामा दक्षिणा राख्न पाउनु भनेको त संसारकै खुसी मिल्नु जतिकै हुन्थ्यो।

तर, अहिले त दक्षिणाभन्दा पनि आशीर्वाद ठूलो लाग्छ। कसैले दक्षिणासँगै राम्रो–राम्रो आशीर्वाद दिँदा मनै प्रफुल्लित हुन्छ। तर त्यो बच्चा बेला दक्षिणा नै सबै थोकजस्तो लाग्ने।

बाल्यकालमा जति रमाइलो हुन्छ दसैं, त्यो विस्तारै घट्दै जान्छ भनिन्छ, तपाईंमा पनि यो कुरा लागू हुन्छ?

जब म होस्टल बस्न थालें दसैंको उमंग मेरो लागि सम्झनामात्र हुन्थ्यो। त्यो बेला म भारतमा थिएँ। उताकै होस्टेलमा रहेर पढेँ। म होस्टेल बस्दा दसैंको बेला वीरगञ्ज घर आउन पाउँदिन थिएँ। मध्य प्रदेशमा मेरो ठूलो मामुको घर थियो। त्यहाँ पनि नयाँ लुगा लगाउने, रमाइलो गथ्र्यौँ तर, आफ्नो घर आएजस्तो, ममी पापासँगै दसैं मनाएजस्तो हुन्नथ्यो। घर, गाउँ, होटेल, हजुरबुबा, हजुरआमा सबै सम्झिरहन्थें। तर, उतै बस्नुपर्ने बाध्यताले दसैं, दसैंजस्तो हुँदैन थियो।

दसैंका दक्षिणा किस्सा केही छन्?

मलाई याद भएसम्म, मामुको मामाले माइजुबाट लुकाएर खाममा राखेर १ सय ५० दिनु भएको थियो। पछि फेरि उहाँले नै मलाई लुकाएर ५ सय थपिदिनु भयो। त्यो चाहिँ सम्झिरहन्छु। यकिन त बिर्सेँ, तर, त्यो बेला म कक्षा ११ मा पढ्थेँ होला।

अर्को, मेरो आफ्नै मामाले एकपटक दक्षिणा नै ४ हजार दिनु भएको थियो। बा ! ४ हजार दक्षिणा दिने भनेर म अचम्मै परेकी थिएँ। किनकि त्यो बेला म आफैँ कमाउँदिन थिएँ। अनि २०/५० दक्षिणा पाउने समय ४ हजार पाउँदा म त मख्खै भएकी थिएँ।

अनि थोरैको कुरा गर्दा चाहिँ कति जनाले खाममा दिनु हुन्थ्यो। खोलेर हेर्दा पाँच रुपैँयामात्र हुने। अनि, मनमनै कति लोभी है जस्तो लाग्थ्यो।

यो उमेरमा आएर दसैंलाई कतिको विशेष बनाउने गर्नुभएको छ?

खर्च त म त्यो बेला पनि गर्दिन थिएँ र अहिले पनि धेरै गर्दिनँ। यो कुरामा हामी छोरीहरूलाई सजिलै हुुने क्या। (हाँस्दै) दक्षिणा पाइहाल्ने त्यसमा पनि अहिले त झनै धेरै पाइन्छ।

तर, खर्चभन्दा पनि बल्ल–बल्ल कति वर्षमा आफन्तसँग भेट गर्न पाइन्छ। उहाँहरूले हामीमाथि विभिन्न प्रश्न गर्नु हुन्छ। पढाई करिअर, प्राफेसन सबै कुरामा सजक हुन सल्लाह दिनु हुन्छ। खासमा आज आएर दसैंको महत्व नै यही हो जस्तो लाग्छ।

यो वर्ष दसैं योजना के छ त?

मलाई मामुले यो दसैंमा विदेश घुम्न जानु पर्छ है भन्दै हुनुहुन्थ्यो तर, यो फिल्मको कामले अलि म ब्यस्त हुने भएँ। अब, दसैं काठमाडौंमै मनाउँने हो।

हाम्रो शाह परिवार, राणा परिवार र कार्की परिवारको दसैं एकसाथ हुन्छ। हाम्रो शाह परिवार, मामुको राणा परिवार अनि बुढो मामाघर कार्की परिवार मिलेर ग्यादरिङ गरेरै दसैं मनाउने हो।

अभिनय क्षेत्रमा काम गरिरहँदा कहिलै सुटिङ सेटमै दसैं मनाउनु परेको त छैन नि?

अहिलेसम्म छैन। यस्तो परिस्थिति आइपर्‍यो भने त दिग्दार भईहाल्छ नि। म त त्यस्तो परिस्थिति पर्ने भयो भने त पहिला नै भनेर काम छोड्छु। किनकि दसैं त परिवारसँगै मनाउने हो। पारिवारिक माहोल नै छुट्टै हुन्छ नि हैन र?

तपाईको प्रतिक्रिया