‘घरमा पाहुना आउनुहुन्थ्यो। उहाँहरूको अगाडि म नाँचेर देखाउँथे। मेरो नृत्यले पुरस्कार स्वरुप केही रुपैयाँ पाउथ्यो,’ नृत्यकार रेशम नेपकिङ्गले आफ्नो विगत सम्झिए।

वीरेन्द्रनगर–१० मा रहेको कोपिला माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए उनी। घरमा क्यासेट प्लेअर थियो। पाहुना आउँदा क्यासेट प्लेअर प्रायः घन्किन्थ्यो। अनि सुरु हुन्थ्यो रेशमको नृत्य।

पाहुनाले उनको नृत्यलाई प्रोत्साहन गर्थे। प्रायः ‘बतासैले उडाइ लग्यो माया मेरो’ बोलको गीतमा घरको आँगनीमा प्रस्तुत हुने उनको नृत्यले केही रकमको ‘पुरस्कार’ पनि पाउने गरेको थियो।

‘नृत्य मेरो बालापनदेखिकै रूचीको विषय बनेको थियो,’ उनले भने, ‘प्रयोगात्मक शिक्षण सिकाइका लागि आएका गुरुका कक्षामा होस् या विद्यालयको साँस्कृतिक कार्यक्रममा, म नृत्यमा सहभागी भइरहन्थें।’

कैलालीको टीकापुरमा पनि उनले नृत्य प्रस्तुत गर्ने मौका पाए। टीकापुर पोलिटेक्निक इन्स्टिच्युटमा ‘आइएसस्सीएजी’को परीक्षाफलको पर्खाइमा रहेका रेशम सम्झन्छन्, ‘मेरो नृत्य हेरेर दर्शकहरू आँशु झारिरहेका थिए। एउटी बज्यै त अर्को दिन मेरो कोठा छेउमा आएर रुनु भएछ। घरबेटीले सुनाउँदै हुनुहुन्थ्यो,’ उनले भने।

रेशमको जन्म २०५३ फागुन २३ मा सुर्खेतको तत्कालीन लाटीकोइली गाविस–७ मा भएको हो। हाल वीरेन्द्रनगर नगरपालिका–१० घर भएका उनी घरका कान्छो छोरा हुन्। उनीभन्दा अगाडि दिदी र दाई छन्। बुवा भद्रबहादुर नेपाली र आमा सीता नेपालीले वीरेन्द्रनगर–१० मै टेलर व्यवसाय सञ्चालन गरेका छन्।

हालसम्म रेशमद्वारा अभिनित ७ वटा म्युजिक भिडियो सार्वजनिक भइसकेको छ। अन्य २ वटा बजारमा आउने तयारीमा छन्। कक्षा ११ मा अध्ययन गर्दै गर्दा उनले म्युजिक भिडियोमा नृत्य प्रस्तुत गर्न थालेका हुन्। चार वर्ष पहिले ‘पहिलो पहिलो माया’ बोलको कभर गीतबाट अभिनय तथा नृत्य सुरु गरेका उनका ‘सधैंभरी अङ्गालोमा’, ‘भन्छु आजमनका कुरा–कभर’ लगायत गीत सार्वजनिक भइसकेका छन्।

मेलामहोत्सवलगायत साँस्कृतिक कार्यक्रममासमेत रेशम आफ्नो प्रस्तुति दिन्छन्। सुर्खेत, कैलाली, दाङ, बाँकेमा आयोजना भएका कार्यक्रममा उनको प्रस्तुतिलाई रुचाइएको छ। गृह जिल्ला भएकै कारण पनि सुर्खेतको सिम्ता, मेहलकुना, जहरे, बोटेचौर, गुमी, छिन्चु, रामघाट र वीरेन्द्रनगरमा आयोजनामा भएका मेलामहोत्सवमा उनले नृत्य प्रस्तुत गरिसकेका छन्।

अघिल्लो वर्ष तीजको समयमा सुर्खेतको बोटेचौरमा आयोजित साँस्कृतिक कार्यक्रम ‘मिक्सिङ’ गीतमा उनले प्रस्तुति दिए। उनको समूहको नृत्यले वाहवाही पायो। दर्शकबाट केही रकम पनि सङ्कलन भयो। उनी सम्झन्छन्, ‘मेरो नृत्यलाई दर्शकले रुचाउनुभयो। दर्शक दिर्घाबाट आएको पुरस्कारले मन झनै हौसायो।’

कृषि प्रविधिक विषय अध्ययन गरिरहेका रेशम अध्ययन सँगसँगै नृत्यलाई अगाडि बढाउने लक्ष्य रहेको बताउँछन्। शिक्षाको आवश्यकता बुझेका अभिभावक पढाइमा ध्यान दिन उनलाई सल्ला दिन्छन्, तर उनको रुची नृत्यमै बढी छ। उनी भन्छन्, ‘बुवा–आमा पढाइमा ध्यान दिन बढी अह्राउनुहुन्छ। म भने नृत्य र पढाइ दुवैलाई समय दिइरहेको छु।’

कैलालीमा अध्ययन गरिरहेका सुर्खेतका युवा मेलामहोत्सवका लागि आयोजकको तर्फबाट आएका प्रस्तावलाई स्वीकार्छन्। र, एक–दुई दिनको समय बिदा लिएरै भए पनि नृत्य प्रस्तुत गर्न पुग्ने गर्छन्।

‘कलाकारिताबाटै अहिलेलाई आफ्नो लागि केही खर्च धानेको छ। यसैमा रमेको छु,’ उनले भने, ‘आगामी दिनमा नृत्यलाई निरन्तरता दिने लक्ष्य छ।’

तपाईको प्रतिक्रिया