काठमाडौं – गायक दुर्गेश थापा तिहारको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत बजारमा ल्याएपछि विवादमा तानिएका छन् । सांस्कृतिक पर्वका रुपमा समेत लिइने तिहार पर्वको गीतमा बियर पिउने र गाँजा तान्नेजस्ता शब्द प्रयोग गरेपछि थापा विवादमा तानिएका हुन् ।

सामाजिक सञ्जालमा र कलाकारको समूहमा पनि दुर्गेश विवादमा परेका छन् । तिहार जस्तो पवित्र पर्वको गीतमा पनि यस्ता शब्द प्रयोग गरिएको भन्दै उनको विरोध भएको हो ।

विरोधसँगै गायक थापामाथि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको हो । प्रप्रशासन कार्यालयमा उजुरी परेपछि कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक थापालाई सम्पर्कमा ल्याउन निर्देशन दिएको छ ।

महाशाखाका एसएसपी सहकुल थापाले दुर्गेशविरुद्ध उजुरी परेको पुष्टि गरे ।

यता दुर्गेश थापाले भने आफूले गल्ती स्वीकारेका छन् । खबरहबसँगको सम्पर्कमा आएका थापाले भने, ‘गल्ती गरेकै हो, अब उहाँहरुसँग बसेर सल्लाह गर्छु, त्यहीअनुसार अगाडि बढ्छु ।’

उनले प्रहरीले आफूलाई सम्पर्क गरेर गीत हटाउन भनेको पनि बताए । ‘म अहिले बाहिर छु, आएपछि जान्छु, उहाँहरुले गीतका शब्दमा आपत्ति जनाउनुभएको हो,’ उनले भने ।

दुर्गेशले तिहारको गीतमा गाँजा र बियरको प्रचार गरेको भन्दै विवाद भएपछि दुर्गेश पनि तनावमा परेका छन् । गीतको भिडियोमा एक बियरको विज्ञापन गरिएको छ ।

यसअघि तिहारका बेला दुर्गेशले ‘बिच्च बिच्चमा’ बोलको गीत बजारमा ल्याएर तारिफ र चर्चा पाएका थिए । तिहारको गीतले भने उनलाई विवादमा तानेको छ ।

तपाईको प्रतिक्रिया