काठमाडौं – चर्चित र्‍यापर भिटेनको लोकप्रिय गीत ‘हामी यस्तै त हो नि ब्रो’ लाई प्रहरीले युट्युबमा हटाएको छ । उक्त गीतमा प्रयोग गरिएका शब्द अश्लील भएको भन्दै प्रहरीले भिटेनको उक्त गीत हटाएको हो ।

पछिल्लो समय र्‍याप गीत सुन्ने स्रोतामाझ ‘हामी यस्तै त हो नि ब्रो’ निकै लोकप्रिय थियो । टिकटकमा समेत भिटेनले गाएको यो गीत लोकप्रिय बनेको थियो ।

भिटेनलाई प्रहरीले अभद्र व्यवहार कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । बिहीबार झम्सीखेलबाट भिटेनलाई प्रहरीले पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले सामाजिक विकृतिलाई मलजल गर्ने गीत भएका कारण पक्राउ गरेको बताएका छन् ।

यता र्‍यापरहरुले भने फ्री भिटेन अभियान चलाएका छन् । सामाजिक सञ्जालमा समेत कलामाथि अंकुश लगाउन खोजेको भन्दै विरोध भएको छ ।

प्रहरीले यसअघि दुर्गेश थापालाई पनि सामाजिक सद्भाव खलबलाउने गीत गाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । गायक थापाले ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतमा गाँजा सेवन गर्न प्रेरित गरेको भन्दै गीत हटाउन लगाइएको थियो ।

तपाईको प्रतिक्रिया