मल्टिस्टारर चलचित्र “पोइ पर्यो काले” ले एक हप्तामा दमदार व्यापार गरेको वितरकले दाबी गरेका छन् । वितरकका अनुसार चलचित्रले एक हप्तामा देशभर ३ करोड ५ लाखको व्यापार गरेको हो । काठमाडौंभित्र १ करोड ९५ लाख र उपत्यका बाहिर १ करोड १० लाखको व्यापार गरेको वितरकहरुको दाबी छ । चलचित्रलाई काठमाडौं उपत्यकाभित्र करण श्रेष्ठ ‘क्रेजी’ ले र उपत्यका बाहिर रोहित कट्टेलले चलचित्र वितरण गरेका हुन् । तर, चलचित्रको यो व्यापारिक आँकडामा निर्माण टिमले केही प्रतिक्रिया भने दिएको छैन ।

यो चलचित्रसँगै बलिउड चलचित्र “हाउसफुल ४” पनि प्रदर्शनमा आएको थियो । मल्टिप्लेक्समा नेपाली चलचित्रभन्दा बढी सोज पाएको कारण “पोइ पर्यो काले” ले प्रदर्शनको दिन खासै राम्रो कमाई गरेको थिएन । अझै पनि “हाउसफुल ४” ले मल्टिप्लेक्समा कब्जा गरेको छ । र, नेपाली चलचित्र “छ माया छपक्कै” ले पनि दर्शकको भिड तानेको छ । यस्तो अवस्थामा “पोइ पर्यो काले” ले करोडौं कमायो भन्ने विषय शंकास्पद रहेको छ ।

प्रदर्शनको समयदेखि लगातार सार्वजनिक विदा भेटेका कारण चलचित्रको व्यापारिक आँकडा नाजुक भने छैन । तर, एक हप्तामा फिल्मको ३ करोड बढीको व्यापार पत्याउन मुश्किल छ । यो चलचित्रले दोस्रो साता सुरु गरेको छ । शिशिर राणा निर्देशित चलचित्रमा रुप रंगले मान्छे राम्रो नराम्रो छुटिँदैन भन्ने सन्देश दिन खोजेको छ । चलचित्रमा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, श्रृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया