ब्यान्डका बाँसुरीवादक रुबिनकुमार श्रेष्ठसँगको कुराकानीपश्चात् बुधबार दिउँसो झम्सिखेलस्थित मोक्षमा साढे एक बजे भेट्ने निश्चित भयो । शनिबार आयोजना हुन लागेको १९७४ एडीको कन्सर्टमा ब्यान्डले पनि लगभग तीनवटा गीतमा ‘कोल्याबोरेशन’ गर्दै छ । त्यसैका लागि कुटुम्ब ब्यान्ड र १९७४ एडीका सबैजना एउटै कोठामा बसेर जोडतोडका साथ अभ्यास गरिरहेका थिए ।

नेपाली सांगीतिक क्षेत्रमा कुटुम्ब ब्यान्डको विशिष्ट पहिचान, योगदान र स्थान छ । नेपाली मौलिक बाजागाजालाई नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय जगतमा पहिचान दिलाउने अभियान थाप्लोमा बोकेर अघि बढिरहेको कुटुम्बको यहाँसम्मको यात्रा सहज भने थिएन । यहाँसम्म आइपुग्न ब्यान्डले कैयन समस्या झेलेको छ । थाप्लोमा तारे भीर बज्रँदा पनि कहिल्यै नआत्तिएको र आफ्नो अभियानबाट बिमुख नभएको यो ब्यान्डबारे जानकारी बटुल्न रातोपाटीका हामी उत्साहित थियौँ ।

हामी पुगिसकेको जानकारी फोनमार्फत् दिइसकेकी थिएँ । आधा घण्टाको समय लाग्ने खबर आयो । त्यसको लगभग पाँच मिनेटपछि मोक्षकै प्राङ्गणमा रहेको कर्मा कफीमा बसिरहेका हामीमाझ हँसिलो मुहार लिएर एक व्यक्तिले हात मिलाउन अघि बढ्दै भने, ‘हेल्लो, म अरुण गरुङ, कुटुम्बको ब्यान्ड म्यानेजर ।’

उनीसँग अनौपचारिक कुराकानी चल्यो । त्यसै क्रममा उनले ब्यान्डका कुरा खोतल्न थाले । ‘ब्यान्ड कसरी स्थापना भयो ?’ भन्ने प्रश्नको जवाफ आफूहरुले धेरैपटक थुप्रैलाई दिइसकेकोले अब त यसको जवाफ उनले रेकर्ड नै गर्न चाहेको बताए । ‘कसैले यो प्रश्न सोधिहाले (देब्रे हातले टेप रेकर्डको झैँ आकार दिँदै दायाँ हातको चोर औँलाले थिचेको जस्तै देखाएर) ‘ठ्याक्कै टेप रेकर्ड अन गर्ने अनि, ल सुन्नहोस्’ भन्नुपर्ला,’ उनले ठट्यौली पारामा भने । उनले सायद हामीले चाँही यो प्रश्न नसोधोस् भनेर सूचक दिएका थिए ।

अरुणको यो ठट्टाको सिलसिला लगभग एक घण्टाको कुराकानीको दौरान चलि नै रह्यो । अरुणसँग कुराकानीको क्रम चलिरहेकै बेला ब्यान्डका अन्य सदस्य पनि आइपुगे ।

हामीलाई ब्यान्ड कसरी स्थापना भयो त्यो जान्नु थियो त्यसकारण अरुणले अघि नै यो प्रश्न नसोध्न संकेत दिएता पनि ब्यान्डका संस्थापक सदस्यमध्ये एक पभित महर्जन, जो पर्कसन बजाउँछन्, लाई ब्यान्ड स्थापना कसरी भयो ? भनेर पहिलो प्रश्न सोध्यौँ ।

चिया पसलमा फुरेको ‘आइडिया’

कुरा सन् २००२ तिरको हो । पभितको प्लस टु भर्खरै सिद्धिएको थियो । उनको विशालबजार र रञ्जनाको बीचको गल्लीमा ‘आरती स्विट्स’ नामको एउटा पसल थियो, जहाँ चिया पिउन ठूलो जमात जम्मा हुन्थे । कम्तीमा पनि ३० जना पसलमा भइरहने । तीमध्ये धेरैजसो पभितका कलेजका र टोलका साथी हुन्थे । कति पसलमा निरन्तर आइरहने भएकाले साथी भएका थिए । त्यतिबेला उनले संगीतकर्मीदेखि हरेक क्षेत्रका व्यक्तिसँग संगत गर्ने मौका पाए, नौजवानहरु विशेषगरी । केही नयाँ गर्ने जोश जाँगर उत्कर्षमा भएका नौजवान । छलफलकै क्रममा उनीलगायत केही साथीले इभेन्ट कम्पनी खोल्ने निर्क्यौल निकाले । त्यसमा सातजनाको सहमती भयो । आफूलाई पनि रमाइलो हुने र अरुलाई पनि मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कम्पनी खोल्ने निर्णय गरिएको पभितले बताए ।

‘त्यो समयमा इन्टरनेट भन्ने थिएन, फोन पनि खासै चलनचल्तीमा थिएन । मनोरञ्जनका खासै त्यति विकल्प नभएको समय थियो त्यो, त्यसैले हामीले यसलाई मनोरञ्जनको गतिलो विकल्पको रुपमा हेर्‍यौँ,’ पभितले भने । इभेन्ट कम्पनीमार्फत् उनीहरुले पाटन संग्रहालयभित्र शुक्रबार नामको सिरिज सुरु गरे । युनेस्कोद्वारा विश्व सम्पदा सूची घोषित पाटन संग्रहालयमा अरु विधाका भन्दा ‘इन्स्ट्रुमेन्टल (वाद्यवादन मात्र भएको) शो’ मात्र शोभनीय हुन्थे । त्यसकारण उनीहरुले ‘इन्स्ट्रूमेन्टल आर्टिस्ट’ लाई प्रस्तुती दिन लगाए । उनीहरुको काम भने टिकट बेच्ने, पोस्टर टाँस्नेलगायतका हुन्थे ।

पभितले यो ब्यान्डको नाम निकै हतारमा जुराएका हुन् । त्यतिबेला उनको मुखबाट ठ्याक्कै एउटा शब्दावली निस्किएको थियो ‘वशुधैव कुटुम्बकम’ । यो शब्द धेरैपटक मैले पनि सुनेकी थिएँ । परिभाषा के रहेछ ? गुगल गरेँ, जसमा यो शब्दलाई ‘धर्ती नै परिवार हो’ भनेर परिभाषित गरिएको छ । पछि उनीहरु सबैले लामो नाम नराखेर कुटुम्बमात्र राख्ने निर्णय गरेको पभितले बताए ।
‘त्यतिबेला इन्स्ट्रूमेन्टल आर्टिस्ट भन्यो तर धेरैजसोले ‘इन्डियन क्लासिकल’ बजाउने गर्थे । उहाँहरुलाई नेपाली बाजा बजाइदिन आग्रह गर्दथ्यौँ, निकै गाह्रो गरेर एक–दुईवटा लोकधुन चाहीँ बजाइदिने गर्नुहुन्थ्यो,’ पभितले भने ।

त्यस्ता लोकधुनमा त्यतिबेला दर्शकहरु खुबै रमाएको पभितले बुझे । । तर उक्त सिरिजको दुई वर्ष बितिसक्दा पनि नेपाली मौलिक बाजामा आफ्नै धुन बजाउने कुनै पनि ब्यान्ड आएनन् । त्यसपछि उनीहरु आफैँले ‘हामी आफैँ नै गरौँ न त’ भनेर सन् २००४ को मे ८ तारिखमा ब्यान्डको नाम जुराएर पाटन म्युजियमभित्रै आफ्नो पहिलो प्रस्तुती दिए ।

वशुधैव कुटुम्बकमः

पभितले यो ब्यान्डको नाम निकै हतारमा जुराएका हुन् । त्यतिबेला उनको मुखबाट ठ्याक्कै एउटा शब्दावली निस्किएको थियो ‘वशुधैव कुटुम्बकम’ । यो शब्द धेरैपटक मैले पनि सुनेकी थिएँ । परिभाषा के रहेछ ? गुगल गरेँ, जसमा यो शब्दलाई ‘धर्ती नै परिवार हो’ भनेर परिभाषित गरिएको छ । पछि उनीहरु सबैले लामो नाम नराखेर कुटुम्बमात्र राख्ने निर्णय गरेको पभितले बताए ।

साथी सर्कल– सबैभन्दा ठूलो गहनाः

ब्यान्डका सबैभन्दा नयाँ सदस्य किरण नेपाली हुन्, जो ब्यान्डका सारंगीवादक हुन् । तर उनी नै ब्यान्डमा भित्रिएको ११ वर्ष बितिसक्यो । उनी अघि अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, रुबिन कुमार श्रेष्ठ, सिद्धार्थ महर्जनले ब्यान्डलाई अघि बढाइरहेका थिए । सुरुमा ब्यान्डमा सातजना सदस्य थिए । दुईजना बाँसुरीवादकमध्ये एकजना विदेश गएको पभितले बताए ।

त्यतिबेलाको साथी सर्कललाई पभित आफ्नो गहना ठान्छन् । उनले भने, ‘त्यतिबेला हाम्रो गहना भनेको नै साथीहरुको सर्कल थियो के । कसैले केही गर्‍यो भने सबैले समर्थन गर्ने भावना हुन्थ्यो नि त ।’ आफ्नो पहिलो कार्यक्रमको टिकटको मूल्य डेढ सय रुपैयाँ राखेर सबै साथीहरुलाई नै बेचेको उनले बताए । उक्त कार्यक्रममा २ देखि ३ सय युवा साथीहरु आफ्नो शो हेर्न आएको उनले स्मरण गरे । डिस्को जाने, रक बजाउने साथीहरुले पनि आफ्नो ब्यान्डको पहिलो प्रस्तुती मन पराएको र उनीहरुले नै ब्यान्डको प्रस्तुतीलाई निकै भिन्न र यसलाई अघि बढाउनुपर्ने सल्लाह दिएपछि आफूहरुको आत्मबल बढेको उनले बताए । उनले भने, ‘साथीहरुको प्रतिक्रिया र सल्लाहलाई आत्मसाथ गरेर त्यसको दुई महिनाभित्र पाटन म्युजियममा हामीले चारवटा कार्यक्रम गर्‍यौँ ।’

उनीहरु लगभग चार वर्षसम्म यही काम अघि बढाउन तल्लीन भए ।

टेक्निकल्ली फिनिसिङ साउन्ड कस्तो आउँथ्यो, कसैलाई थाहा थिएनः

सुरुमा त ब्यान्डले यति लामो यात्रा तय गर्ला भनेर सोचेका पनि थिएनन् । पभितले भने, ‘सुरुमा कस्तो हुँदो रहेछ त ? गरी हेरौँ न त, भनेर हामीले एक्सपेरिमेन्ट गरेका थियौँ ।’

उनीहरुले बजाउने मौलिक बाजाको आवाज स्पिकरमा कस्तो आउँछ भनेर कसैलाई पनि थाहा थिएन । पभितले भने, ‘तुङ्गनालाई भित्ताबाट झिकेर सारङ्गीजस्तै ट्युन गरेर पहिलो पटक जब स्टुडियोमा बजाइयो, त्यो साउन्ड सुनेर हामी सबै असाध्यै मख्ख परेका थियौँ ।’

पहिलो शो गरेपछि चाँही उनीहरुलाई शृङ्खलाबद्ध रुपमा एकपछि अर्को कार्यक्रमका लागि निम्तो आइरह्यो । भलै त्यो पैसा आउने शो थिएनन् । ब्यान्डले थुप्रै फन्डरेजिङ कार्यक्रमलाई सहयोग गर्नुका साथै आफैँले पनि थुप्रै फन्डरेजिङ कार्यक्रमको आयोजनासमेत गरेको छ ।

‘नेपाली लोकभाखालाई कसरी अगाडि बढाउने भनेर हामीमाझ चुनौती चाँही थियो । नेपाली बाजालाई लाइमलाइटमा कसरी ल्याउने त ? त्यो पनि चुनौती थियो,’ उनले भने ।

जसरी रक आर्टिस्ट, कन्सर्टहरुले राम्रो प्लेटफर्म पाउँछन्, त्यसरी नै बाजा बजाउनेहरुका लागि पनि त्यस्तो प्लेटफर्म कसरी सृजना गर्ने भनेर उनीहरु पछिल्लो १० वर्षदेखि लागिपरेका छन् ।

सम्भावना नभएको क्षेत्रः

सुरुसुरुमा उनीहरुलाई बजाउन निकै गाह्रो भयो । पढे लेखेकाहरुलाई बुझाउन पनि निकै गाह्रो हुन्थ्यो । सांगीतिक क्षेत्रमै आबद्ध भएकाहरुले पनि यसलाई सम्भावना नभएको क्षेत्र भन्ने गरेको पभित सम्झन्छन् । ‘यस्ता संगीत कि त होटलमा बज्थे, कि त कुटनीतिक क्षेत्रमा मात्र बज्थे । नेपालको इतिहासमा इन्स्ट्रुमेन्टल ब्यान्डलाई टिकट बेचेर शो गराउने हामी पहिलो ब्यान्ड हौँ । त्यसकारण इतिहासमै नभएको कुरा गर्न हामीलाई कति गाह्रो भयो होला ?,’ उनले प्रश्न गरे ।

मानिसहरुले नबुझ्ने, सम्भावना नभएको क्षेत्र भनेर हतोत्साहित गरिदिने त्यसमाथि राजनीतिक अस्थिरताको चेपुवामा, सुरुवाती दिन उनीहरुका लागि कष्टकर थिए । पभितले भने, ‘त्यस्तो बिघ्न गाह्रो खेपिसकेका हामी अहिले जतिसुकै ठूलो समस्यामा पनि आत्तिदैनौँ ।’

‘हुन त नेपालभरी नै बाजा बजाउनेहरुलाई ‘दमाई’ नै भनिन्छ । तर त्यतिबेला यदि सबैले वाहवाही गरेको भए यहाँसम्म आइपुगिँदैनथ्यो होला,’ पभितले हाँस्दै भने । अहिले त्यो प्रतिक्रियालाई उनीहरुले सकारात्मक तरिकाले नै हेरेका छन् ।
यस्तो कार्यक्रममा रमाइलो हुन्छ र ?

उनीहरुको सबैभन्दा ठूलो समस्या भनेको दर्शकले नबुझिदिनु हो । ‘धेरैले ‘इन्स्ट्रुमेन्टल पनि हुन्छ र ? त्यस्तो कार्यक्रम पनि हुन्छ र ? रमाइलो हुन्छ र ?’ भनेर प्रश्न गर्नुहुन्थ्यो किनभने यो पूर्ण रुपमा नयाँ अवधारणा थियो,’ पभितले भने ।

तर मानिसहरुले यस्तै प्रतिक्रियामा पनि उनीहरुलाई रमाइलो लाग्थ्यो किनभने उनीहरुको कार्यक्रम पछि मानिसहरुको सोचाई र अवधारणा परिवर्तन भएको जो सुन्न पाउँथे ।

उनीहरुले काठमाडौँमा धेरै प्रस्तुती दिए । त्यसपछि गाउँगाउँमा गएर बजाउनुपर्ने आवश्यक ठाने र त्यतैतिर लागे । पभितले भने, ‘यो बाजा धेरैजसो गाउँतिर नै बजाइने गरिन्छ । हामीले उनीहरुकै ठाउँमा गएर उनीहरुकै बाजा बजाएर देखाउँदा उनीहरुको मनमा जुन प्रकारको आत्मविश्वास वृद्धि भएको (यो त हाम्रै बाजा हो, हामीले पनि यस्तै गर्न सक्छौँ, ल यसरी गरौँ भनेर जुन नयाँ सोच आउँथ्यो) देखेर चाँही हामीलाई खुब रमाइलो लाग्थ्यो ।’

‘ह्या… यिनीहरु गाइने त हुन् नि’:

ठमेलमा एउटा कार्यक्रममा बजाउन जाँदा आफूहरुमाथि गरिएको प्रतिक्रिया पभित कहिले पनि बिर्सदैनन् । उनले भने, ‘हामी ठमेलमा एउटा फन्डरेजिङ कार्यक्रममा बजाउन जाँदा हामीलाई ‘ह्या….यिनीहरु गाइने त हुन् नि,’ भनिएको थियो । बाजा बजाउनेहरुलाई जुन प्रकारको हेय दृष्टिकोणले हेरिन्थ्यो त्यो निकै पीडादायी थियो । ’

‘हुन त नेपालभरी नै बाजा बजाउनेहरुलाई ‘दमाई’ नै भनिन्छ । तर त्यतिबेला यदि सबैले वाहवाही गरेको भए यहाँसम्म आइपुगिँदैनथ्यो होला,’ पभितले हाँस्दै भने । अहिले त्यो प्रतिक्रियालाई उनीहरुले सकारात्मक तरिकाले नै हेरेका छन् ।

‘मानिसहरुमा यस्तो अवधारणा कसरी विकास भयो त ? सारङ्गी बजाउनेहरु जहिले पनि कुना च्यापेर विरहका गीतमात्र गाउँछन् भन्ने सोच मानिसहरुमा थियो । र यसरी गीत गाउनेहरु धेरै पीडित हुन्छन् र कुनामा नै बसेर गाउनुपर्छ भन्ने अवधारणा विकसित भयो । तर एक दुई जनाले त्यो संगीत बजाएर अर्को चरणमा पुर्‍याएपछि, यसरी पनि बज्दो रहेछ है भन्ने कुराहरु आयो । किरण आएदेखि सारङ्गीलाई स्ट्यान्डमा राखेर बजाएपछि सारंगी बजाउने सबैजनाको हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ । पछिल्लो १० वर्षमा कति धेरै सारङ्गी बजाउनेहरु आउनुभएको छ । नन गन्धर्वबाटै कतिले सारङ्गी बजाउने भएका छन्, ’ पभित भन्छन् ।

यु नेभर नो ह्वाट्स गन ह्यापनः

अहिलेसम्मको यो यात्रालाई ब्यान्डले एक प्रकारको ‘एड्भेन्चर’ को रुपमा हेरेको छ । यसलाई अर्थ्याउँदै पभित भन्छन्, ‘एड्भेन्चर भनेको चाँही, यु नेभर नो ह्वाट्स गन ह्यापन । आफ्नो गन्तव्य के हो पनि थाहा हुँदैन । तर त्यहाँ पुगिसकेपछि पनि एक प्रकारको रमाइलो हुन्छ । त्यो चुनौती त यहाँसम्म आइपुग्दा पनि छ नै ।’

संगीत उनीहरुको रुचीको विषय थियो । ब्यान्डका सदस्यको ब्यान्डबाहेक अन्य क्षेत्रमा पनि काम थियो त्यसैले पनि उनीहरुलाई आर्थिक रुपमा ब्यान्डलाई अघि बढाउन गाह्रो भएन ।

वेस्टर्न ब्याकग्राउन्ड भएकोले सोचाइको परिधि फराकिलोः

सुरुवाती अवस्थामा ब्यान्डका सबै सदस्य सिक्ने क्रममा नै थिए । त्यसकारण उनीहरुका लागि सबैकुरा नौला थिए । पभितले किरणलाई इंगित गर्दै भने, ‘उनले चाँही सारंगी बजाउनु अघि गितार बजाउँथे । कुटुम्बमा आउँदा उनलाई सारंगी अलिअलि मात्र बजाउन आउँथ्यो । त्यस्तो रिफाइन चाँही थिएन ।’

किरणमात्रै होइनन्, ब्यान्डका धेरैजसोको कथा उनीजस्तै छ । उनीहरुमध्ये कसैको पनि मेजर इन्स्ट्रुमेन्ट नेपाली बाजा थिएन । पभितले भने, ‘म व्यावसायिक रुपमा किबोर्ड बजाउँथे । तुङ्गना बजाउने साथीहरु गितार बजाएर गीत गाउँथे । सबैको वेस्टर्न ब्याकग्राउन्ड नै थियो । त्यही कुरालाई हामीले एक्सप्लोर गर्दै गयौँ ।’

किरणले भने, ‘सारंगी बजाउँछु भनेर कहिले पनि सोचेको थिइनँ । बुवाले बजाइरहेको देख्थेँ । एकदिन अचानक बजाएँ र आफैँले सिकेँ पनि । पभित दाइ पनि पहिला किबोर्ड बजाइरहेको मान्छे, ब्यान्डमा मादल बजाउनुहुन्छ । हामीलाई स्वाद भिन्न लाग्यो र मिठो पनि । मैले सारङ्गी बजाउँछु, रुबिनले बासुरी, पभित दाइले धिमे र पर्कसनहरु बजाउनुहुन्छ, राजु दाइले पर्कसन, सिद्धार्थले मेटल पर्कसन, अरुण दाइले तुङ्गना बजाउनुहुन्छ । राम्रो कुरा के हो भने हामी वेस्टर्न म्युजिकबाट आयौँ । त्यसपछि हामीले फोक इन्स्ट्रुमेन्टहरु एक्सप्लोर गर्न थाल्यौँ त्यसैले गर्दा हाम्रो सोचाइको परिधी फराकिलो भएको हो ।’

यदि पहिले देखि नै त्यहि धार समातेर आएको भए, सायद आफूहरुले परिवर्तनको चाहना नराख्ने किरणको अनुमान छ । ‘पहिला जस्तो थियो त्यही हुनुपर्छ भनेर ढिपी पनि कस्थ्यौँ होला । तर हामी एउटा म्युजिकको ब्याकग्राउन्डबाट आयौँ र अर्को म्युजिकमा छिर्यौँ, अब चाँही केही एक्सप्लोर गरौँ, केही खोजौँ भन्ने भयो । त्यसैले पनि हामीले धेरै एक्सपेरिमेन्टहरु गर्यौँ । त्यसरी नै हामी अगाडि बढेका हौँ,’ किरणले निकै अत्मविश्वासी लवजमा फरर भने ।

Sorce :- Ratopati

तपाईको प्रतिक्रिया