काठमाडौं। सुपरहिट फिल्मको सिक्वेल, ब्राण्ड ब्यानर, स्टारकास्ट आदीका कारण निर्माण घोषणादेखि नै चर्चामा रहेको यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’को शुभ–मुहूर्तसंगै औपचारिक छायांकन शुरु गरिएको छ।

शुक्रबार बिहान दक्षिणकाली मन्दिरमा पूजाआजा गर्दै फिल्मको छायांकन शुरु गरिएको हो। लामो समयको वर्कशप र भव्य सुटिङ सेट निर्माणपश्चात फिल्म छायांकनका लागि तयार भएको हो।

फिल्म यूनिटले लामो समय लगाएर काठमाडौंको कीर्तिपुरमा भव्य सुटिङ सेट निर्माण गरेको छ। शुक्रबार त्यहीँबाट फिल्मको छायांकन शुरु गरिएको हो। फिल्मको छायांकन ४५ प्रतिशत राजधानी र ५५ प्रतिशत मनाङमा हुने जनाईएको छ। फिल्मको छायाँकन सेड्युल ५५ दिन राखिएको छ।

आशुसेन फिल्मस्को व्यानरमा निर्माण हुने यस फिल्ममा सन्तोष सेनको लगानी रहने छ। फिल्मलाई निर्माता सेन र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नेछन्। निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्ममा ‘प्रेम गीत’कै अभिनेता प्रदीप खड्का ‘प्रेम’को भूमिकामा देखिनेछन्। यस्तै ‘गीत’ पात्रको भूमिकामा क्रिस्टिना गुरुङले काम गर्दैछिन्। उनी निर्माण युनिटले आव्हान गरेको अडिसनमा २ हजार ७ सय १४ प्रतिष्पर्धीबाट छानिएकी हुन्।

फिल्ममा प्रदीप, क्रिस्टिनाका अलावा शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जिवन वराल, अनुभव रेग्मी, समृद्धी शाही, शिशिर राणा, जिवन भट्टराई, क्रिजन गौतम, योगीता खत्री लगायतका कलाकारको अभिनय रहनेछ।

२ सय वर्ष पुरानो प्रेमकथामा बन्न लागेको फिल्ममा चक्र बहादुर चन्द, डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा छन् भने कुमार शाह शान र ओएसआर डिजिटल सह–निर्माताको रुपमा रहेका छन्।

राजेश श्रेष्ठको छायांकन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहनेछ। त्यस्तै कल्याण सिंह र एलिश कार्कीको फिल्ममा संगीत रहनेछ। फिल्म सम्पादनको जिम्मा बनिश शाह र भुपेन्द्र अधिकारीले लिएका छन्।

आगामी चैत २८ गते फिल्मको प्रदर्शन मिति तोकिएको छ। निर्माता, निर्देशक तथा कलाकार सेनले फिल्मलाई इतिहासले गर्व गर्न लायक फिल्म बनाउने बताएका छन्। फिल्मको डिजिटल राइट्स झण्डैं १ करोडमा बिक्रि भैसकेको छ।

तपाईको प्रतिक्रिया