काठमाडौं । नेपालका सर्वाधिक सफल हास्य कलाकार हुन् हरिवंश आचार्य । १९५८ नोभेम्बर १३ तारिखका दिन उनको जन्म काभ्रेको शारदा बतासेमा भएको थियो । यस आधारमा आज उनी आफ्नो ६२ औं जन्मदिन मनाउँदैछन् ।
भर्साटाइल कलाकारको छवि बनाएका आचार्य अभिनय, निर्देशनका साथै गायनमा पनि कुशल छन् । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात् मह जोडी उदाहरणीय कलाकार जोडी हो । ४० वर्षसम्म श्रेष्ठ र आचार्यले कलाकारिता क्षेत्रमा बिताएका छन् ।
उनै हरिवंशलाई आज जन्मदिनमा शुभकामना र शुभेच्छा दिनेको सामाजिक सञ्जाल फेसबुकको टाइमलाइन भरिएको छ । नेपाली हास्यव्यंग्य क्षेत्रमा मानक स्थापना गरेका हरिवंशलाई उनका जोडी मदनकृष्ण श्रेष्ठदेखि अहिलेका सर्वाधिक चर्चित कलाकार दीपकराज गिरीले समेत शुभकामना दिएका छन् ।
पछिल्लो समय हरिवंश आचार्य चलचित्र निर्माण र अभिनयमा बढी व्यस्त छन् । पहिलो श्रीमती मिरा आचार्य गुमाएर रमिला पाठकसँग दोस्रो बिहे गरेका आचार्यका दुई छोरा त्रिलोक र मोहितवंश छन् । दुवैको बिहे भइसकेको छ ।

तपाईको प्रतिक्रिया