किशोर उमेर होस्, प्रौढ वा वृद्ध, जुनसुकै उमेरमा पनि प्रेमको जालमा मान्छे सजिलै फँस्न सक्छ । त्यसैले त भनिन्छ नि, प्रेमको उमेर हुन्न । उमेर अनुसारको प्रेम र त्यसबाट उत्पन्न हुने तनाव तथा अवसादको प्रतिक्रिया भने उमेरअनुसार फरक हुन्छ । वृद्धावस्थामा हुने प्रेमको उल्झन् वा तनाव रुपमा व्यवस्थापन हुनसक्छ । किशोरकालको प्रेमले ल्याएको तनाव र उल्झन तुलनात्मक रुपमा जटिल मात्र होइन व्यवस्थापन गर्न कठिन किसिमको समेत हुनसक्छ । किशोरकाल अनुभवको काँचो उमेर भएकाले सामान्य समस्याको परिणाम पनि जटिल हुनसक्छ । अभिभावक सचेत हुने हो भने किशोर उमेरका सन्तानलाई ब्रेकअपपछि पनि सहज अवस्थामा फर्काउन सक्छन् ।

खुलेर कुरा गर्नुस्
सानै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस् । यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन् । कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस् । प्रेम र आकर्षणको सम्बन्ध बुझाउनुस् । किशोर कालमा हुने प्रेम वास्तविक प्रेम नभई आकर्षण हो भन्ने तर्कसहित बुझाउनुस् ।

पढाइको महत्व बुझाउनुस्
किशोरकालमा हुने प्रेम सम्बन्ध र त्यसबाट उत्पन्न समस्याले बढाउने तनावको असरले पढाइमा प्रत्यक्ष प्रभाव पार्छ । आफ्ना सन्तानलाई पढाइको महŒवबारे सम्झाउनुस् । अहिले उमेर पढ्ने उमेर भएकाले प्रेममा भन्दा पढाइमा ध्यान दिन आग्रह गर्नुस् । पढाइ सक्किएपछि गरिने वा हुने प्रेम वास्तविक हुन्छ र त्यसले ल्याउने सुखद् हुने भनी बुझाउनुस् । प्रेमका कारण बिग्रने पढाइले जीवनमा पार्ने असरबारे केही उदाहरणसहित बुझाउनुस् । आफूले सम्झाउन नसके परामर्शदाताको सहयोग लिनुस् ।

साथीसँग बुझ्नुस्
अभिभावकले थाहा पाए समस्या अझ चर्किन्छ भनेर तपाईंका सन्तानले धेरै कुरा लुकाएका हुनसक्छन् । समस्या समाधानका लागि पहिला आफ्ना सन्तानको विश्वासपात्र बन्नुहोस् या विश्वासपात्र खोज्नुहोस् । साथीसँग वा विश्वासपात्रसँग खुलेर कुरा राख्छन् भने तिनलाई घरमा बोलाउनुहोस् । साथीसँग कुरा गर्नुहोस् । आफ्ना समस्या राख्न सहजीकरण गर्नुहोस् । यसले गलत निर्णयमा पुग्नबाट रोक्न सकिन्छ ।

सोखको प्रशंसा गर्नुहोस्
किशोर उमेरमा केही न केही सोख सुरु हुन्छ । कसैलाई गीत गाउन मन पर्छ, कोही गितार या यस्तै वाद्ययन्त्र बजाउन चाहन्छन् । कोही गीत, कविता लेख्न मन पराउँछन् । चित्रकलामा पनि रुचि बढ्न सक्छ । आफ्ना सन्तानले जेमा रुचि देखाएको छ, त्यसैमा अगाडि बढ्न हौसला दिनुहोस् ।

तपाईको प्रतिक्रिया