तेह्रथुम, १५ जेठ ।

तेह्रथुमको आठराई गाउँपालिका–४ ईवामा रहेको रन्दल आधारभूत विद्यालयको रजत स्मारिका–२०७३ को विमोचन तथा रन्दल स्मृति स्तम्भ अनावारण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
स्मारिकाको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य तेजमान कन्दङवा र विशेष अतिथि ईलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुख कमल पनेरुले संयुक्तरुपमा विमोचन गर्नु भएको थियोे सेन वंशका जिम्मावाल सुब्बा स्व. साधु रन्दल ईङनामको अर्धकद प्रतिमा सहितको स्तम्भको प्रदेश सभा सदस्य तेजमान कन्दङवाले अनावरण गर्नु भयो । स्व.साधु रन्दलकै नाममा रन्दलका सन्तितीहरुले रन्दल विद्यालयको प्राङगणमा स्तम्भ निर्माण गरिदिएका हुन ।
स्मारिकाको साहित्यकार अनिरुद्र तिम्सिनाले समिक्षा गर्नु भएको थियो । सोही अवसरमा गत मंसिरमा सम्पन्न प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य कन्दङवालाई विद्यालय परिवारले अभिन्दन गरेको छ । आठराई क्षेत्रबाट इमान्दार, विकास प्रेमी, शिक्षा प्रेमी एवमं सचेत र उर्जाशिल व्याक्तित्व प्रदेश सभा सदस्यमा भएकोमा अभिन्दन–पत्र, दोसल्ला र फुलमाला सहित प्रदेश सभा सदस्य कन्दङवा अभिन्दित हुनुभएको हो ।
कार्यक्रममा स्मारिका र आवरण सम्पादन गर्ने अमृतकुमार बास्तोला र मदनकुमार भण्डारीलाई विद्यालयले सम्मान गरेको छ । रन्दल स्मृतिको कलात्मक स्तम्भ र तस्विर संयोजन गर्नुुहुने तेजकुमार ईङनाम र केशरदिप ईङनामलाई पनि विद्यालयले सम्मान गरेको विद्यालयका प्रधानाध्यापक जयप्रकाश ईङनामले जानकारी दिनु भयो । कार्यक्रममा विद्यालय स्थापित अक्षयकोषबाट तीन दर्जन बढी विद्यार्थीहरुलाई छात्रबृति वितरण गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य कन्दङवाले समय सापेक्ष रन्दल आधारभूत विद्यालयले अंग्रेजी माध्यम र कम्प्युटर शिक्षा संचालन गरेकाले नेपालको आठराईकै शैक्षिक इतिहास उच्च बन्न सहयोग गर्ने बताउनु भयो । प्रधानमन्त्री केपी ओलीको जन्म स्थान समेत रहेको ईवामा शैक्षिक र समाजिक विकासले गति लिन उहाँले उल्लेख गर्नु भयो ।
विद्यालयमा खेलमैदान अभाव भएकोले खेलमैदान निर्माण र रन्दल स्मृति स्तम्भको सुरक्षाकोलागि घेराबार गरिदिने प्रदेश सभा सदस्य कन्दङवाले प्रतिवद्धता जनाउनु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ईङनामको सभापतित्वमा सम्पन्न कार्यक्रममा साँस्कृतिक र हाजिरी जवाफ प्रतियोगीता लागायतका कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया