नायिका मनिषा कोइरालाले गरेको एक ट्विटलाई लिएर भारतीय मिडियाले उनलाई तल्लो स्तरको गाली गर्न थालेपछि अहिले नेपालको सामाजिक संजाल तातेको छ ।

नेपाली सामाजिक संजालमा आम दर्शकदेखि कलाकारले उनको समर्थन गर्दै आफ्नो विचार व्यक्त गरिरहेका छन् । यसले, देश र कुनै एक कलाकारको बिषयमा बोल्नुपर्दा कसरी नेपालीहरु एक हुन्छन् भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ ।

नायिका ऋचा शर्माले आफूले भारतीय मिडियाबाट दुई पैसे नौटंकीभन्दा बढी आशा नै नगरेको उल्लेख गरेकी छिन् । ऋचा लेख्छिन्–‘चाहे १९४२ लभ स्टोरी होस् या दिल से वा खामोशी । मनिषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयौ कलाकारहरु समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए । तर, मनिषा आज पनि बलिउडमा दरिलो उपस्थिती जनाएर बसेकी छिन् । कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् ।’

ऋचाले प्रियंका चोपडाले पनि हलिउडमा राम्रो स्थान बनाएको भन्दैमा उनले आफ्नो मातृभूमी भारतलाई विर्सिन भन्न नमिल्ने पनि उल्लेख गरेकी छिन् । ऋचाले लेखेकी छिन्–‘म चाहे बीसौ बर्ष कुनै संस्थामा काम गरुँ, त्यसका हाकिम मेरा लागि सधै हाकिम नै हुन्, माता वा पिता होइनन् ।’

ऋचाले समाजलाई भड्काउने बिषय वेच्नमा भारतीय मिडिया धेरै अगाडि रहेको पनि उल्लेख गरेकी छिन् ।

तपाईको प्रतिक्रिया