पोखरा — नेपाली सांगीतिक बजारमा तीज गीतहरू लोकप्रिय हुने क्रममा, यस वर्ष पनि समाजका वास्तविक कथालाई समेट्दै ‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक गरिएको छ। गीतले छोरीको पिडा, माइतीको सम्झना र तीजको मौलिक भावना समेट्दै गहिरो सामाजिक सन्देश दिन खोजेको छ।

अर्जुन पन्तको प्रस्तुति तथा निर्देशनमा तयार भएको यस गीतले तीजको सांस्कृतिक पक्षलाई मात्र होइन, नारीका संवेदनशील भावनात्मक पक्षलाई पनि समेट्न प्रयास गरेको छ। गीतमा कृष्ण कँडेल र शोभा परियारको मार्मिक स्वर रहेको छ, जसले छेलिको पीडा र मायालु भावनालाई हृदयस्पर्शी बनाएको छ।

गीतको गीतकार कृष्ण कँडेल हुन् भने संगीत अर्जुन पन्तले भरेका छन्। यसमा तेजेन्द्र दुबाले संगीत संयोजन, कृष्ण लमिछानेले मिक्सिङ तथा मास्टरिङ, र दिवस थापा मगरले रेकर्डिङ गरेका छन्। रेकर्डिङ पोखराको बाँसुरी डिजिटल र काठमाडौंको सुर साधना स्टुडियोमा गरिएको हो। गीतको अडियो/भिडियो व्यवस्थापन अञ्जना डिजिटलले सम्हालेको छ।

भिडियोतर्फ, निर्देशन स्वयं अर्जुन पन्तले गरेका छन्। मुख्य भूमिकामा अर्जुन पन्त, लक्ष्मी घिमिरे, कृष्ण कँडेल, थानेश्वरी उपाध्याय, अर्पण परियार, अमृत परियार, सभ्यता र समृद्धिले अभिनय गरेका छन्। भिडियोको छायांकन बिजय गौडेल र सुरेश रेग्मी, सम्पादन तथा रङ संयोजन सुसिल डाँगीले गरेका छन्।

गीतले नारीले माइतीमा अनुभूति गर्ने प्रेम, पिडा र सम्झनालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। विशेष गरी तीज जस्तो पर्वमा घरबाट टाढा रहेकी छोरीहरूको मनको भाकालाई यस गीतले सजीव चित्रण गरेको छ। पारिवारिक सन्देश, लोक-सांगीतिक भाव र सामाजिक यथार्थको समन्वय यस गीतको विशेषता बनेको छ।

यस गीतमार्फत निर्देशक अर्जुन पन्तले नेपाली समाजमा अझै रहेको छोरी–माइतीबीचको सम्बन्ध र भावनात्मक दूरीलाई उजागर गर्ने प्रयास गरेका छन्। गीत सार्वजनिक भएसँगै दर्शक र श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

तपाईको प्रतिक्रिया