काठमाडौँ — झन्डै चार महिनाअघि रिलिज बलिउड फिल्म ‘कबिर सिंह’ ले तहल्का नै मच्चायो । घरेलु बक्सअफिसमा तीन सय करोड भारुभन्दा बढीको व्यापार गरेर व्यावसायिक सफल त बन्यो नै, धेरैभन्दा धेरै दर्शकले यसलाई हेरे । फिल्म हेरिसकेपछि दर्शक दुई भागमा बाँडिए ।

एकथरीले फिल्म अत्यधिक रुचाए भने अर्काथरीले शाहिद कपुर स्टारर फिल्मले नकारात्मकताको बढावा दिएको आरोप लगाउँदै फिल्म र निर्देशकको जमेरै विरोध पनि गरे । फिल्ममा कविर सिंह बनेका शाहिद एक युवतीको प्रेममा एकोहोरो लाग्छन् । युवतीलाई पाउनका लागि अनेकन हर्कत गर्छन् । नपाएपछि लागूऔषधको सहारा लिन्छन् । फिल्ममा शाहिदकै अभिनयलाई जति तारिफ गरियो उति नै विरोध कविर सिंहको हिंस्रक र झगडालु चरित्रलाई लिएर भयो । आरोप, प्रत्यारोप र तारिफले त फिल्मको व्यापारलाई त झन् बढावा दियो । बलिउडका अधिकांश सेलिब्रेटी पनि फिल्मलाई लिएर दुई खेमामा बाँडिए ।

करिना कपुरले सैफअलि खानसँग विवाह गर्नुअघि शाहिदकै प्रेममा थिइन् । दुईको लामो समयको प्रेम असफल भएपछि करिना खानतिर लागिन् भने शाहिदले पनि मीरा राजपूतसँग विवाह गरे । करिनालाई हालै कबिर सिंह र शाहिदको भूमिकाबारेमा प्रतिक्रिया दिन गरिएको आग्रहमा सुरुमा त उनले आफूले फिल्म नहेरेको भनेर पन्छिन खोजिन् । तर फिल्मका बारेमा यति धेरै चर्चा भयो कि, फिल्म नहेर्नेले पनि यसबारेमा पर्याप्त मेसो पाइसकेका छन् । यस्तोमा करिनाले उम्किन पाउने कुरै थिएन । त्यसमाथि पूर्वप्रेमीको विवादित फिल्मबारे बोल्न करै लाग्यो ।

‘मैले फिल्म त हेर्न पाएकी छैन । तर यसले कुनै असर पार्नेवाला छैन किनभने फिल्मले तीन सय करोडभन्दा बढी कमाइसकेको छ । ठीक ढंगले बनेको नहुँदो हो त यतिको सफलता सायद सम्भव थिएन,’ करिनाले भनेकी छन्,‘यदि मेरो व्यक्तिगत कुरा गर्ने हो भने, मलाई कबिर सिंहजस्तो चरित्रप्रति विश्वास छैन । किनभने म व्यक्तिगत रूपमा त्यस्तो खालको छैन ।’

करिनाले आफूलाई बचाउँदै फिल्मबारेको टिप्पणीमा भनेकी छन्, ‘र, अन्त्यमा त यो फिल्म हो भन्ने बुझ्न जरुरी छ । त्यसका लागि कलाकारले दिइएको भूमिका निर्वाह गर्ने हो ।’

तपाईको प्रतिक्रिया