काठमाडौं। आज शुक्रबारदेखि नेपाली फिल्म ‘च च हुई’ प्रदर्शनमा आएको छ। साम्तेन भुटिया निर्देशित फिल्ममा आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा शिर्ष भूमिकामा छन्।

हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा पुस्तकले ल्याउने उतारचढावलाई फिल्ममा रमाईलो तरिकाले चित्रण गरिएको बताईएको छ। प्रायः लभस्टोरी फिल्ममा देखिदै आएका अभिनेता आर्यन रोमान्टिक कमेडी फिल्ममा देखिएका हुन्।

निर्माण पक्षका अनुसार फिल्ममा आर्यन र भोलाराज हङकङबाट नेपाल फर्किएका युवकको भूमिकामा छन्। त्यस्तै मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन्।

जीवनको पिङ च च हुई गरेर मच्चिन खोज्दा आउने अवस्थालाई फिल्ममा देखाइएको निर्देशक भुटिया बताउँछन्। उनी भन्छन्, ‘विषयवस्तु अनुसार पात्र चयन गरिएको हो। फिल्म त्यही अनुसारको बनेको छ। फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिँदै समय र पैसा सदुपयोग गर्छ।’

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले फिल्मको निर्माण गरेका हुन्। फिल्ममा माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको पनि शिर्ष अभिनय छ।

सिजन दाहाल र सन्देश अर्याल पटकथा रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन र श्री श्रेष्ठको द्वन्द रहेको छ। राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको फिल्मका गीतमा शिशिर खातीको कोरियोग्राफी छ।

पछिल्लो समय आशा गरिएका फिल्मले समेत गतिलो ब्यापार गर्न सकिरहेका छैनन्। असोजमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’पछि फिल्मको ब्यापार पनि कमजोर छ। त्यस्तो अवस्थामा प्रदर्शनमा आएको अपेक्षित मध्येको फिल्म ‘च च हुई’ले कस्तो ब्यापार गर्ला? प्रतिक्षा गरौं।

तपाईको प्रतिक्रिया