काठमाडौं – फागुन २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको शीर्ष भूमिका छ । यसअघि ‘म यस्तो गीत गाउँछु’ व्यावसायिक रुपमा सफल भएपछि निर्देशक सुदर्शन थापा यो फिल्म निर्माणमा हौसिएका थिए ।

निर्माण टिमका अनुसार यो फिल्म पूर्ण रुपमा प्रेमकथामा आधारित हुनेछ । ‘म यस्तो गीत गाउँछु २’ पल र पूजा दुवैका लागि महत्त्वपूर्ण फिल्म पनि हो ।

‘म यस्तो गीत गाउँछु’ पछि पल र पूजाले केही फिल्म दिए । तर, ती फिल्म व्यावसायिक रुपमा सफल बन्न सकेनन् । जबकि, दर्शकले पल र पूजाको जोडीलाई ‘म यस्तो गाउँछु’ मा रुचाएका थिए ।

पछिल्लो समय पल शाहको शीर्ष भूमिका रहेको फिल्म ‘वीर विक्रम २’ प्रदर्शनमा आयो । फिल्ममा उनले वर्षा शिवाकोटीसँग जोडी बाँधेका थिए ।

यता पूजाले पनि ‘पोई पर्‍यो काले’ मा काम गरिन् । फिल्म नराम्रोसँग पत्तासाफ भयो । फिल्ममा सौगात मल्ल, आकाश श्रेष्ठजस्ता कलाकार पनि थिए ।

पल र पूजा दुवैले पछिल्लो समय सफल चलचित्र दिन सकेका छैनन् । त्यसो त खरो अभिनय भएका कलाकारका रुपमा दुवैले परिचय बनाउन सकेका छैनन् । यद्यपि फिल्मले व्यावसायिक सफलता हात पार्नु पनि एक हिसाबले कलाकारका लागि बाँच्ने आधार हो ।

औसत अभिनय गरेर पनि चर्चामा आउने पल र पूजाले ‘म यस्तो गीत गाउँछु २’ मा अभिनय सुधारेर गतिलो फिल्म दिनेछन् भन्नेमा त धेरैले आशा गरेका छैनन् । तर, कम्तिमा एक खालका दर्शकलाई फिल्म मन परेर लगानी उठाउन सक्यो भने पनि ठूलो राहत हुनेछ ।

तपाईको प्रतिक्रिया