प्रदीप सापकोटा

स्वतन्त्रतापूर्वक आफ्ना भावहरु पोख्ने महत्वपूर्ण माध्यम हो मुक्तक । सामान्यतः चार हरफमा लेखिने यो कविताको एक छोटो प्रभेद हो । चतुष्पदीमा लेखिने मुक्तकमा पहिलो र दोश्रो पंक्तिमा अनुप्रास मिलेको हुन्छ भने तेश्रो पंक्तिमा अनुप्रास स्वतंत्र हुन्छ र अन्तिम चौथो हरफ फेरी अनुप्रास मिल्ने हुनुपर्छ ।

भोजपूरका दिलिप योञ्जन तामाङ । अमेरिका बस्छन् । तर नेपाली भाषा साहित्यको श्रीवृद्धिको लागि एकदमै दत्तचित्त भएर लागि पर्छन् । साहित्यमा गीत,गजल,कविता र मुक्तकमा विशेषतः उनको कलम चल्छ । झण्डै एक दर्जन मुक्तक,कविता र गीतिसंङ्ग्रह प्रकाशित गरिसकेका योञ्जनका पछिल्लो मुक्तक संङग्रह हो ‘आगमन’ । व्यक्तिगत रुपले चिनारु नभएका मुक्तककार दिलिपको आगमन हात पर्र्याे । पढेँ र केही लेख्न मन लाग्यो ।

आगमनभित्र उनका २ सय उन्न्सत्तरी वटा मुक्तकहरु परेका छन् । यी मुक्तकहरु विषयवस्तुको हिसावले हेर्दा विविधतायुक्त देखिन्छन् । त्यहाँ भित्र भएका मुक्तकरुपी फूलहरुमा विविधताको छनक पाउन सकिन्छ । कतै मायाप्रेम,प्रणयभाव, मिलन र प्रेममा उब्जिने समर्पणभावको मिसावट देखिन्छ त कतै विछोडको पीडामा तड्पिएको प्रेमीको व्यथा उजागर भएको पाइन्छ । प्रेम भावको सुन्दर अभिव्यक्ति झल्किने मुक्तकहरु पनि यस कृतिमा परेका छन् । कतै जीवनलाई फूलसँग तुलना गरिएको छ । सुख र दुःख,हाँसो र आँसुको संगमको रुपमा जीन्दगीलाई बुझ्न आग्रह गरिएको छ ।
प्रेमका मीठा र न्याना वाछिटाहरुले लछप्पै भिजेका मुक्तकहरु पनि यहाँ समावेश गरिएका छन् । प्रेमको आयतन नापेका मुक्तककार धोका खानुपर्दाको प्रेमीको भाव,खुशी हराउँदाको अनुभूति पनि आफ्नो मुक्तकमार्फत दर्शाउँछन् ः
मनमा एउटा खुशी थियो,त्यो पनि शीसाझैँ टुट्यो
खुशी खोजियो जीवनभरि,त्यो पनि बाटोमै छुट्यो
नहुँदा जुन खुशी थियो,भएर पनि आज दुःखी छ मन
जिउँदो हुन्जेल त दुःख पीडा ,खुशी मनमै फुट्यो ।

सरल भाषामा समाजका नकारात्मकताहरुले वनाएका नराम्रा खाडलहरुलाई मुक्तकहरु मार्फत औल्याउने प्रयास पनि भएको छ । वर्तमान समग्र परिवेशलाई मिहिन ढंगले केलाएर व्यड्ड गरेका छन् । उनका मुक्तकहरु यथार्थ धरातलमा दर्विलो ढंगले टेकेका छन् । समाजको विषम परिस्थिति,विशाक्तता लगायतका विषयहरुको उठान पाइन्छ आगमनमा । दिलिपका मुक्तकहरु यथार्थताका द्योतक हुन् । मुक्तकहरुले वर्तमान समाजको सही प्रतिनिधित्व गरेका छन् । दैनिकीका विम्ब वोलेका छन् ।

जीवनको मूल्य र मान्यता ह्रास हुँदै गएको वर्तमान अवस्थाप्रति उनको चिन्ता छ । वर्तमान समयको विकृत राजनीतिक बेथिती देख्दा उनी उकुसमुुकुस भएर वोल्छन् । उनलाई दिक्क बनाउँछ गरिवीले विदिर्ण बन्दै गएका जनता र स्वार्थी र सम्पत्ति कमाउमा लागेका हाम्रा नेता देखेर । समाज,देश र जनताको हित राजनीतिको मुख्य मकसद हुनुपर्ने उनको ठम्याई विरुद्ध नेताहरु लागेको देख्दा उनको मन पोल्छ । राजनीतिलाई कमाउ जागिर बनाउने नेताहरुसँग झोक चल्छ उनलाई । झुठ माथि झुठ थोपर्दै गरेका नेताहरु सधैं जनतालाई ढाँट्ने हाम्रो देश । अनि देश र जनता भन्दा आफ्नै स्वार्थको पोखरीमा डुवुल्की मार्ने नेताहरु सम्झन्छन् उनी र ब्यँग कस्छन् ः

राजनीति भनेको समाज परिवर्तन हो जागिर खानु होइन
तलव भत्ता चाहिए जागिर खाने हो,जनता ढाँट्नु होइन
भोकभोकै जनताहरु मारेर पेट भर्नु भन्दा भोकै मरे भो
देश र जनता लुटेर,रिन मागेर मोजमस्तीले बाँच्नु होइन ।

 

हाम्रा जीवनका यथार्थता र जटिलताहरु मुक्तकहरुमार्फत औल्याएका छन् । दिलिप पछिल्लो समयसम्म आइपुग्दा मुक्तक लेखनमा एकदम सक्रिय देखिन्छन् । समाजका विद्रूप विसंगति हर क्षेत्रमा रहेको उनको ठहर छ । जागिरमा चाकरी,राजनीतिमा झोले कार्यकर्ताको उल्लेख्य उपस्थिति, हर पेशामा चाकरी र चाप्लुसीका चरित्र हावी भएका प्रति उनको रोष छ । उनका मुक्तकहरु वर्तमान समयमा हरक्षेत्रमा पुगेका छन । राजनीतिक दलहरुमा हावी भएका गुटगत स्वार्थका झुण्डहरु,कुर्सीको लागि तानातान र हानाहान भैरहने परिवेश,भोकै भएर अभावमा जिवन जिउन विवश जनता हुँदाहुँदै तलव भत्ता वृद्धिका लागि आवाज उठाउने माननीय जनप्रतिनिधिहरुका चरित्र मुक्तकहरुमा उदाँगो पारिएको छ । उनी मुक्तकमा लेखापढा मान्छेहरु पनि राजनीतिक पार्टीका झोले भएकोमा आक्रोशित हुन्छन् । पुरस्कार र विद्यता पनि चाकरीमा परेको मुलुक सम्झेर दुःखी बनेका मुक्तककार आरोप र प्रत्यारोपमा उत्रनेहरुको खिल्ली उडाउँछन् ।

धर्म परिवर्तन गर्ने , धर्मको नाउँमा लुट्ने, परम्परागत संस्कार र संस्कृति विपरित लाग्ने कुराहरु क्षम्य हुन नसक्नेमा उनको मुक्तकको जोड छ । विदेशीको पाउमा शिरनत गरेर प्रणाम गर्नेले आफूलाई सबैभन्दा राष्ट्रवादी भनेकोमा उनको आपत्ति छ । विदेशीको स्वार्थको लागि उनीहरुकै जुठोपुरो खाएर देशलाई राष्ट्रघातको विष वमन गर्ने कुरा अक्षम्य हुने उनको तर्क छ । देश नातावाद र कृपावादको दलदल र चंगुलमा फसेको कुरा औल्याएका छन् । सेतोलाई सेतो भन्न नसक्नेहरु प्रति पनि उनका मुक्तक लक्षित छन् । मूलूक संचालन गर्नेहरु धेरै जसो विचौलिया र अवसरवादी ठानेका छन् उनले जस्तै यहाँ हेरौं ःः

नातावाद र कृपावादकै मोजमस्ती छ यहाँ
जनताको जताततै उजाडिएको बस्ती छ यहाँ
दलाल र विचौलियाले चलाएको देश हो हजुर
यिनै अन्धा बहिराहरुकै सधैं जवरजस्ती छ यहाँ ।

साँँच्चै कविमन वर्तमान समयको वेथितिले उकुसमुकुस भएर मुक्तकहरु मार्फत पोखिएको छ । उनले यहाँको विषमता खोतल्ने यत्न गरेका छन् । अनि आएको र पाएको विषमतालाई पाठक सामु राखेका छन् । उनले कुनैपनि विषयको उठान गरेपछि प्रष्टता पार्न सकेका छन् ।
वर्तमान राजनीतिको खतरनाक अवस्था छ मुक्तकमा । आजको युगको राजनीतिको विकृत मनोदशा यहाँ चित्रण गरिएको छ । राजनीतिक विद्रुपताले जनतामा छाएको निराशा उजागर गरिएको छ । देश र जनतालाई ढाँट्नेहरुले आफ्नै आत्मालाई पनि ढाँटेका हुन्छन् । त्यस्ताहरु त राष्टघाती हुन्छन् । गद्दार हुन्छन् । उनीहरुलाई मारेपनि सजाय कम हुन्छ भन्दै वर्तमान राजनीतिक नेतृत्वहरु प्रति उहाँको ब्यँग प्रहार पनि गरिएको छ जस्तै यहाँ हेरौं ः
दिन्दिनै देश र जनता ढाँट्दा,लाज शरम त लाग्नुपर्ने,
दलाली गरीगरी आफ्नै आत्मालाई आफैं ढाँट्नुपर्ने
किन पापीहरुको आत्मा रुँदैन,आफ्नै आमा बेच्दा
देश दुख्दा मुटु पोल्छ ,दलालहरुलाई जिउँदै गाड्नुपर्ने ।

उनका मुक्तकहरुमा आशावादीता पनि अटेको छ । यसैको त्यान्द्रोले उनी घच्घच्याउँछन् मुक्तक मार्फत सर्वसाधारणलाई । स्वार्थको आहालमा डुवेका हाम्रा नेताहरुलाई खवरदारी गर्छन् । विद्रोहका शसस्त्र भाषा वोल्छन् उनी । जुन जोगी आएपनि कानै चिरेका भन्ने बुझेका उनले अव त्यस्तो अवस्थाको अन्त्य हुन जरुरी भएको भाव व्यक्त गरेका मुक्तक पनि यहाँ परेका छन् । यसरी हेर्दा आगमनका विषयवस्तु समग्र वर्तमान समय वरिपरि रहेको छ । राजनीतिक विकृती र विसंगति वरपर घुमेको छ । प्रेममा पाएको धोकाले भावुक मन वोलेको छ । जीवनका भोगाइहरुका उद्धेगहरुलाई मुक्तकहरु मार्फत अभिव्यक्त भएको पढ्न र वुझ्न सकिन्छ ।
थोरै शब्दमा धेरै विषय वुन्न सक्ने खुवी हुन्छ मुक्तकमा । यस्तो खुवी उनका मुक्तकमा पनि पाइन्छ । उनका मुक्तकको एउटा मुख्य विशेषता भनेकै मुक्तकहरुमा प्रयुक्त विषयगत विविधता हो । विविध भावभूमीका मुक्तकको संग्रहित रुपमा पढ्न सकिन्छ आगमन । निरासामात्र नभएर आशावादीताको कुरा पनि छ मुक्तकमा । पढिरहन मन लाग्ने मन छुने यथार्थपरक मुक्तकहरु यस संग्रहका परेका छन् । धेरै जस्तो सन्दर्भहरु राजनीति वरिपरि घुमेका लाग्छन् । त्यसमा मायाप्रेम पनि मिसिएको छ । राष्टिय भावले ओतप्रोत पनि पाइन्छ । सवै मुक्तक शक्तिशाली छन् भन्न नमिल्ला । अनि सवै उत्कृष्ट पनि छैनन् । केही मझ्यौला लाग्छन् । अनि केहीमा अझै परिष्कारको आवश्यकता पनि देखिन्छ । यद्यपी सृजना जहिल्यै अपुरो हुन्छ यसमा निरन्तरताको खाँचो रहन्छ जसले गर्दा श्रष्टा आफ्नो सृजनामा निखारता ल्याउन सक्दछ । यो कुरा श्रष्टा दिलिपमा पनि लागू हुन्छ । तर प्रवासको व्यस्त समयमा पनि नेपाली साहित्य साधनामा निरन्तर तल्लिन हुने मुक्तककारको भावनालाई मुक्त कंठमा प्रशंसा नगरी रहन सकिन्न । नयाँ मुक्तक सङ्ग्रहको निम्ति दिलीपलाई हार्दिक बधाई ।।

[email protected]

तपाईको प्रतिक्रिया