काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणीको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयले उच्च सरकारी वकिलको कार्यालयको रायसहितको फाइल अध्ययनपछि मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो । उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसलाको पूर्णपाठ आएपछि महान्यायाधिवक्ता कार्यालयमा फैसलाविरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय बुझाएको थियो ।

उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सन्दीपलाई जबरजस्ती करणी मुद्दामा सफाइ दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले काठमाडौं जिल्ला अदालतले दिएको फैसलालाई उल्ट्याएको थियो । त्यसअघि लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेको थियो । तर, न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेले जबरजस्ती करणी गरेको भए पनि पीडित किशोरीको उमेर १८ वर्ष पूरा भएको ठहर गरेको थियो ।

तपाईको प्रतिक्रिया