काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुलाई घर सापटी कर्जा प्रदान गर्दै आइरहेको छ । कोषमा कम्तिमा ३६ महिना योगदान गरेका योगदानकर्ताहरुले यस्तो कर्जा पाउने गर्छन् ।

घर सापटीको सीमा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी ७५ लाख रुपैयाँ, योगदानकर्ताको १५ वर्षको तलब वा योगदानकर्ता ६० वर्ष उमेर पुग्‍न बाँकी कार्य अवधिको तलबमध्ये जुन कम हुन्छ, सोही बमोजिम रहेको छ ।

कोषबाट नयाँ घर निर्माण गर्न, घरमा तला थप्न, घर मर्मत गर्न, अपार्टमेन्ट र घर खरिद गर्नका लागि घर सापटी लिन सकिन्छ ।

कोषबाट घर सापटी लिनका लागि के के कागजात चाहिन्छन् ? हामीलाई कोषबाट घर सापटी लिनका लागि चाहिले कागजातबारे जानकारी गराउँदै छौं ।

१) निवेदकको नागरिकता र कोषले प्रदान गरेको परिचय पत्रको प्रतिलिपि

२) धितो राखिने जग्गाको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि (नयाँ नापी भएको भए श्रेस्ता अद्यावधिक भएको हुनुपर्ने)

३) घरजग्गा प्राप्तीको स्वामित्व सम्बन्धी लिखत (राजिनामा, अंशबण्डा, बकसपत्र, छोडपत्र, दर्ताफारी आदि) को प्रतिलिपि

४) धितो राखिने जग्गाको नापी नक्साको सम्बन्धित निकायबाट प्रमाणित ब्लू प्रिन्ट र चार किल्ला खुलेको ट्रेस पेपरको सक्कल प्रति

५) धितो राखिने जग्गाको जग्गाधनी र निवेदक फरक व्यक्ति भएमा जग्गाधनीको नागरिकताको प्रतिलिपि

६) चालू आर्थिक वर्षको मालपोत बुझाएको रसिदको प्रतिलिपि

७) धितो राखिने जग्गाको जग्गाधनी र निवेदक फरक व्यक्ति भएमा निजहरु बिचको नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

८) घर खरिद गर्दा खरिदकर्ता र बिक्रीकर्ताबीच हुने सम्झौता

९) सम्बन्धित स्थानीय तहबाट प्रमाणित चार किल्ला खुलेको सक्कल पत्र

१०) सम्बन्धित कार्यालयबाट प्रमाणित योगदानकर्ताको अवकाश हुने मिति तथा तलवमान खुलेको सक्कल पत्र

११) घर र जग्गा दुबै धितो राख्नुपरेमा घर निर्माण सम्पन्‍न प्रमाणपत्र, तर जग्गाको मूल्यांकनले मात्रै सापटी रकमलाई खाम्‍ने भएमा जग्गाको मूल्यांकनबाट मात्र पनि सापटी लिन सकिने छ ।

१२) धितो राखिने सम्पत्ति बिमाका कागजातहरु

१३) कोषले आवश्यक ठानकेको अन्य थप कागजातहरु

तपाईको प्रतिक्रिया