काठमाडौँ । गायक प्रेम सेनले नयाँ गीत ‘म्याङ्लुङ बजार’ ल्याएका छन् । गायिका सुनिता थेगिमसँग गायनमा सहकार्य गरी उनले लामो समयपछि गीत ल्याएका हुन् । पूर्वेली भाकाको यो गीतले पहाडी जिल्ला तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारलाई सम्झाउँदै मायाप्रेम दर्शाउँछ । प्रेमभावको यो गीतमा गीतमा गायक प्रेमकै शब्द तथा संगीत छ ।
तीनजुरे डाँडा रमाइलो गुराँस फुल्यो झलल
नौडाँडा काटी आएको हजुरकै माया सम्झेर
आ है बसमा सरर
भेट्न आउँला म्याङ्लुङ बजार
तेह्रथुममुनि सल्लेरी माया छ हजुर मनभरि
टाढाको माया गाढा भो मन बुझाऊँ मैले कसरी
आ है बसमा सरर
भेट्न आउनु म्याङ्लुङ बजार
गायक-गायिका स्वयं फिचर्ड गीतको भिडियोलाई दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको मेकअप र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने ए वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ गरेका हुन् ।
‘विभिन्न व्यक्तिगत कारण र गीतकै तयारीमा केही समय लाग्दा अलि लामै ग्यापपछि गीत ल्याएको हुँ,’ गायक सेनले भने, ‘अब नियमित रुपमा गीत सार्वजनिक गर्ने सोचमा छु । यसपटक पूर्वेली भाकाको गीत ल्याएको हुँ ।‘
पश्चिमका लोकदोहोरी गीतको बजार राम्रो भइरहेको बेला पूर्वेली गीतलाई पनि फेरि एकपटक चिनाउने प्रयास गरेको उनले बताए ।
लामो समय शास्त्रीय संगीतको औपचारिक प्रशिक्षण समेत लिएर डेढ दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय प्रेमका यसअघि सानी, तिम्रो पाउजु, आऊ गाऔं, तिमीले लाको चौबन्दी लगायत गीत रुचाइएका थिए ।