काठमाडौँ । गायक तथा संगीतकर्मी बिबेक महर्जन बोबाको नयाँ म्युजिक ‘ढ्याप्पा’ सार्वजनिक भएको छ। परम्परागत नेपाली खेल ‘लुकामारी’ बाट प्रेरित गीतले आधुनिक नेपाली पप–फ्युजन शैलीमार्फत कलाकारको सांगीतिक यात्रा र भावनात्मक अनुभूतिलाई प्रस्तुत गरेको छ।
लुकामारी खेलमा खोज्ने व्यक्तिले अरूलाई भेटेपछि बोलिने ‘ढ्याप्पा’ शब्दलाई नै गीतको शीर्षक बनाइएको गायक महर्जनले बताएका छन्। उनका अनुसार यो गीत सोही नामको एल्बमअन्तर्गत समावेश छ, जसले उनको सांगीतिक यात्राका विभिन्न चरणलाई प्रतिनिधित्व गर्छ।
गीतमा व्यक्तिगत अनुभूति, संघर्ष र दुःखलाई पन्छाउँदै खुशी र उत्साहतर्फ अघि बढ्ने भाव व्यक्त गरिएको छ। भिडियोमा परम्परागत नेपाली सांस्कृतिक परिवेशलाई आधुनिक भिजुअल शैलीसँग मिश्रण गरिएको देखिन्छ। गीतको लय, स्वर र भोकल अभिव्यक्तिले भावनात्मक उतारचढावलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
आधुनिक पप–फ्युजन शैलीमा तयार पारिएको ‘ढ्याप्पा’ मा नेपाली मौलिकताको स्वाद पनि अनुभव गर्न सकिन्छ। भिडियोमा मनोज महर्जन मुख्य भूमिकामा देखिएका छन् भने निर्देशन विश्वास बज्राचार्यले गरेका हुन्।

तपाईको प्रतिक्रिया