४ असोज, काठमाडौं । सातौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । आगामी असोज १९ गते विराटनगरमा सम्पन्न हुने म्यूजिक खबर म्यूजिक अवार्डमा परेका विभिन्न ३३ विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो । अवार्डमा राष्ट्रिय भाव, पप, लोक, चलचित्र, आधुनिक विधाका कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा अवार्डका सल्लाहकारहरु वरिष्ठ चलचित्र निर्देशक, लेखक मोहन निरौला, चलचित्र निर्देशक सुमन दाहाल, गीतकार आरसी कोइराला, साहित्यकार राधेश्याम लेकाली, अवार्डको संयोजक सबिता पोखरेल, राष्ट्रिय योजना आयोगका उपसचिव नारायण खतिवडा, कलाकार निर्देशक निर्मल शर्मा, बिजी मलका प्रमुख बासु गिरी, गरुडा हाउजिङको प्रमुख उज्ज्वल जंग ठकुरी, गीतकार योगेन्द्रमणी दाहाल, गायक प्रमोद खरेल, चित्रकार ज्योतिप्रकाश लगायतको हातबाट मनोनयनमा परेकालाई प्रमाणपत्र प्रदान गरिएको हो ।

दरबार रोधी घर जमलको हलमा सम्पन्न भएको उक्त कार्यक्रममा अवार्डका सदस्य सचिव सन्तोष श्रेष्ठले उपस्थित स्रष्टाहरुलाई स्वागत मन्तव्य दिंदै अवार्डको गरिमाका बारेमा उल्लेख गरेका थिए । त्यसैगरी सल्लाहकार मोहन निरौलाले पूर्वको शहर विराटनगरमा सम्पन्न हुन लागेकोमा गर्व लागेको बताउँदै पहिलोपटक राजधानी केन्द्रीत अवार्डहरु विदेशमा जानुभन्दा स्वदेशभित्रकै शहरहरुमा गर्नु महत्वपूर्ण हुने बताएका थिए । अवार्डका अध्यक्ष सुमन बैरागीको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई कार्यक्रम निर्देशक शान्तिप्रियले संचालन गरेका थिए ।

अवार्डमा गायक शिव परियार, रमेशराज भट्टराई, अर्जुन सुनाम, नरहरि प्रेमी, रञ्जित परियार, बैकुण्ठ महत, सञ्जीव कुमार पौडेल, गायिका प्राश्ना शाक्य, शर्मिला गुरुङ, सुनिता दुलाल, डेबिट शंकर, ध्रुव बिस्को, सरु गौतम, अर्पना श्रेठ, सुशिला पाठक, संगीतकार सुनिल मास्के, विकास चौधरी, डेनी निरौला लगायत एक सयभन्दा बढी कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया