१६ असोज, काठमाडौं । म्यूजिकखबरको आयोजनामा भएको सातौं म्यूजिकखबर म्यूजिक अवार्ड २०७५ आगामी असोज १९ गते शुक्रबार प्रदेश नं. १ को राजधानी विराटनगरमा सम्पन्न हुन गइरहेको छ । गीतसंगीतका विभिन्न ३३ विधामा म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न हुन गइरहेको छ । मुलुकभित्र आन्तरिक रुपमा सांस्कृतिक पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले विराटनगरमा पहिलोपटक म्यूजिक अवार्ड सम्पन्न हुन गइरहेको छ । विगत ६ वर्षदेखि राजधानीमा सम्पन्न हुँदै आइरहेको म्यूजिक खबर म्यूजिक अवार्ड यस वर्षबाट प्रादेशिक रुपमा राष्ट्रियस्तरको महोत्सवका रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ अब नियमित रुपमा अन्य प्रदेशहरुमा पनि आयोजना गरिने आयोजक पक्षले जनाएको छ । अवार्डलाई हामी युवाले सहआयोजकको भूमिका निर्वाह गरी अवार्ड सम्पन्न गर्न लागिपरेको छ ।

सातौं म्यूजिक खबर म्यूजिक अवार्डमा सम्मानित व्यक्तित्वहरु

रानुदेवी अधिकारी, म्यूजिक खबर दीर्घ साधना सम्मान

प्रजातान्त्रिक रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीलाई यस वर्षको दीर्घ साधना सम्मान प्रदान गरिन लागिएको छ । सातौं म्यूजिक खबर म्यूजिक अवार्डको अवसर पारेर गायिका अधिकारीलाई म्यूजिक खबर दीर्घ साधना सम्मान २०७५ प्रदान गरिन लागिएको हो । राणा शासन विरुद्धको अभियानामा प्रजातान्त्रिक आन्दोलन रेडियोमा गीत गाएर होमिएकी रानुदेवीले २००६ सालमा पहिलो गीत रेकर्ड गराएकी थिइन् । तारणीप्रसाद कोइरालाको शब्दमा उनले गाएको गीतले जनतालाई जागरुक गराएको थियो । प्रजातन्त्र आएपछि त्यस रेडियोलाई काठमाडौं ल्याएर रेडियो नेपाल बनाइएको थियो ।

तुलसी पराजुली, म्यूजिक खबर दशकको स्रष्टा सम्मान

त्यसैगरी संगीतमा लामो समय योगदान गर्दै आएका र पछिल्लो दशकमा आफ्नो योगदानलाई अझ शिखरमा पु¥याएका स्रष्टाहरुलाई प्रदान गरिने म्यूजिक खबर दशकको स्रष्टा सम्मानबाट यस वर्ष गायक तुलसी पराजुली र गायिका माण्डवी त्रिपाठीलाई सम्मानित गरिने भएको छ । २५ वर्षदेखि निरन्तर क्रियाशील रहेका गायक पराजुली धनकुटा डाँडाबजारमा जन्मिएका हुन् । तुुलसी पराजुलीका गीति एल्बमहरु परदेशी, घुम्तीको बाटोमा, देउराली, बिरानो देश, मायाको चिनो, खोटाङ्ग जिल्ला दिक्तेल बजार, झलझली आँखैमा (सालैज्यु), घिन्ताङ्ग, लेकैमा चौरी, कुईनेटो, मूल बाटो, चौरीको छुर्पी लगायतका एल्बमहरु बजारमा आइसकेका छन् ।

माण्डवी त्रिपाठी, म्यूजिक खबर दशकको स्रष्टा सम्मान

त्यस्तै दुई दशकको सांगीतिक यात्रा तय गरिसकेकी गायिका माण्डवी त्रिपाठी भने सुन्दरबजार लमजुङमा जन्मिएर संगीत क्षेत्रमा क्रियाशील छन् । करिब एक हजारभन्दा माथि दोहोरी गीतमा स्वर दिइसकेकी माण्डवीले सिम्पल सिम्पल कान्छीको, ढल्क्यो ढल्कयो, मात लाग्यो, ढोल बज्यो, बारुले कम्मरदेखि अहिलेको टाकनटुकुनसम्म आउँदा उनले फरक र चर्चित गीतहरुमा स्वर दिइसकेकी छन् ।

प्रेम सापकोटा सोनु, म्यूजिक खबर डायस्पोरा संगीत सम्मान

त्यसैगरी जापानमा रहेर नेपाली गीतसंगीतमा निरन्तर लागिरहेका गायक प्रेम सापकोटा सोनुलाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मानबाट सम्मानित गरिने भएको छ । नेपाली लोकदोहोरीको क्षेत्रमा ८ वर्षदेखि निरन्तर क्रियाशील रहेका गायक प्रेम सापकोटा गीति लेखन, भाका संकलनमा समेत सक्रिय रहँदै आएका छन् । सातौं म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा ‘म्यूजिक खबर डयास्पोरा संगीत सम्मान २०७५’ प्रदान गरिन लागिएको हो । हालसम्म २ दर्जन बढी गीतहरूमा आफ्नो आवाज दिएका प्रेम गायनको अलावा सिर्जनामा पनि उत्तिकै अब्बल देखिन्छन् भने केही गीतहरूमा उनी आफै अभिनय र निर्देशन समेत गरेका छन् । मायाको घैला, यस्तै छ बाबा, दुनियाँको नजरमा, आइफोनको रुख, जापानी रेल, मरे बराबर, परदेशी दिदी, सुन्तला कुहिए गाउँमा, बच्चाको साथी लगायत उनको स्वर र सिर्जनामा सांगीतिक बजारमा आएका थुप्रै गीतहरूले राम्रो चर्चा संगै सफलता पाएका छन् ।

मल्लिका कार्की, म्यूजिक खबर युवा प्रतिभा संगीत सम्मान

त्यसैगरी लाजको लाली, तिमीले नसम्झिँदा माया, यतिधेरै मान्छेहरुको भीडमा जस्ता दर्जनौं गीत गाइसकेकी गायिका मल्लिका कार्कीलाई यस वर्षको ‘म्यूजिक खबर युवा प्रतिभा संगीत सम्मान – २०७५’ प्रदान गरिन लागिएको हो । गायिका कार्की २०६१ देखि हालसम्म निरन्तर क्रियाशील रही नेपाली गीतसंगीतको क्षेत्रमा योगदान गरिरहेकी छन् । मोरङ सिजुवामा जन्मिएर नेपाली गीतसंगीतलाई शिरोपर गर्दै देशविदेशमा आफ्नो प्रस्तुति दिँदै आएकी गायिका कार्कीलाई सातौं म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा यो सम्मान प्रदान गर्न लागिएको हो ।

गीता अधिकारी, म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार

त्यसैगरी मुलुकको पूर्वी भाग मोरङ जिल्लाको केराबारीमा जन्मिएर गीतसंगीत, चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएकी पत्रकार गीता अधिकारीलाई यस वर्षको ‘म्यूजिक खबर संगीत पत्रकारिता सम्मान–२०७५’ प्रदान गरिने भएको हो । काठमाडौंलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेको पनि करिब डेढ दशकको हाराहारीमा पुगेको छ । २०६१ सालमा मानचित्र मासिक पत्रिकाबाट पत्रकारिताको यात्रा शुरु गरेकी गीताले यस क्षेत्रमा ठूलै संघर्ष गरेकी छन् । जुनबेला महिला पत्रकारहरुको न्यून संख्या रहेको बेलामा उनी पत्रकारिता जगतमा प्रवेश गरेकी थिइन् । नारीलाई असक्षम पात्रका रुपमा उभ्याउने समाजमा उनले गरेको संघर्षले एउटा उदाहरण बनाएको छ ।

याङ्शु श्रेष्ठ, म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान
दाङ जिल्लामा जन्मिएर सानै उमेरमा कलाको माध्यमबाट ख्याती कमाएकी बाल प्रतिभा हुन याङ्गशु श्रेष्ठ । २०६६ साल असोज २४ गते जन्मिएकी याङ्गशु श्रेष्ठले सानै उमेर देखी नै देश भित्रका बिभन्न स्टेज र भारतीय स्टेजमा समेत आफनो कला प्रदर्शन गरिसकेकी छन । याङ्गशु बहु प्रतिभाशाली बालकलाकार हुन । उनी गायन, नृत्य र अभिनयमा पोख्त छिन । नेपालका प्रसिद्ध संगीतकार महेश खडका, सन्तोष श्रेष्ठ लगायतका संगीतकारको संगीत र लोकराज अधिकारी केएल पीडित लगायतका गीतकारका शब्दमा आधुनिक र चलचित्रको गीत गायकी याङ्गशु श्रेष्ठलाई यस वर्षको ‘म्यूजिक खबर बाल प्रतिभा प्रोत्साहन सम्मान २०७५’ प्रदान गरिने भएको हो ।

म्यूजिक खबर प्रदेश नं १ विशेष सम्मान

त्यसैगरी गीतसंगीतको क्षेत्रलाई उच्चकोटीको बनाउन मुलुकको पूर्वीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ । प्रदेश नं. १ का स्रष्टा र सिर्जनालाई मध्यनजर गर्दै आन्तरिक रुपमा कल्चरल पर्यटन भित्र्याउने उद्देश्यले आयोजना गरिएको सातौं म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा ‘म्यूजिक खबर विशेष संगीत सम्मान–२०७५’ बाट गायक सिताराम पोखरेल, गीतकार शुभ मुकारुङ र गायक डीबी गुरुङलाई सम्मानित गरिने भएको छ ।

तपाईको प्रतिक्रिया