बीबीसी । बेलायतका ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेको घोषणा गर्दै आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने बताएका छन् । ह्यारी र मेगनले एक विज्ञप्ति जारी गर्दै उनीहरूले बेलायत र उत्तर अमेरिका दुवैतिर बसाइ हुने जनाएका छन् । सो विज्ञप्ति प्रकाशन गर्नुअघि उनीहरूले महारानी एलिजावेथ वा राजकुमार विलियम कसैसँग पनि परामर्श नगरेको र बकिंघम प्यालेस यो घटनाबाट निराश भएको बताइएको छ ।

राजपरिवारका वरिष्ठ सदस्यहरू ह्यारी दम्पतीको घोषणाबाट ‘आहत’ भएको बताइएको छ । गत अक्टोबरमा राजकुमार ह्यारी र मेगनले सञ्चारमाध्यमले आफूहरूबारे अनावश्यक चासो राखेकाले त्यसबाट जोगिन आफूले संघर्ष गर्नुपरेको बताएका थिए । बुधवार अप्रत्याशित रूपमा निकालिएको विज्ञप्तिमा आफूहरूले धेरै महिना सोचविचार र छलफल गरेर यस्तो निर्णय गरेको उल्लेख गरेका छन् ।

उनीहरूले सो विज्ञप्ति सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि राखेका छन् । ‘हामी राजपरिवारका वरिष्ठ सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा स्वतन्त्र हुन काम गर्न चाहन्छौं । यद्यपि हामी महारानीलाई निरन्तर पूर्ण समर्थन गरिरहनेछौं ।’ महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै बेलायत र उत्तर अमेरिकामा समय व्यतीत गर्ने आफ्नो योजना भएको उनीहरूले बताएका छन् ।

‘यो भौगोलिक सन्तुलनले हामीलाई हाम्रा छोरालाई शाही परम्पराको सम्मान गर्दै हुर्काउन समर्थ बनाउनेछ । त्यसो गर्दा हाम्रो परिवारलाई नयाँ परोपकारी संस्थाको आरम्भ गर्नसहित नयाँ अध्यायमा केन्द्रित हुन ठाउँ दिनेछ,’ विज्ञप्तिमा भनिएको छ । यो घोषणा विनापरामर्श भएकाले राजपरिवार बढी दुःखी भएको हुनसक्ने अनुमान गरिएको छ । यसले एकातिर ह्यारी तथा मेगनबीच र अर्कातिर बाँकी राजपरिवारबीच ठूलो मतभेद भएको स्पष्ट रूपमा देखाउँछ ।

बकिंघम प्यालेसकी प्रवक्ताका अनुसार ह्यारी र मेगनको निर्णयबारे राजपरिवारमा प्रारम्भिक चरणमा छलफल भएको छ । उनले भनिन्, ‘उनीहरूको भिन्न शैलीमा जाने इच्छा भएको हामी बुझ्छौं । तर यी जटिल विषय हुन् र तिनलाई समाधान गर्न समय लाग्छ ।’ क्रिसमसको बेला राजपरिवारको जिम्मेवारीबाट छ हप्ताको बिदा लिएर छोरासहित ह्यारी दम्पती क्यानडा गएका थिए ।

उनीहरूका छोरा आर्चीको जन्म गत मे महिनामा भएको हो । उनीहरू मंगलवार बेलायत फर्किएका हुन् । त्यसपछि ३५ वर्षीय ह्यारी र ३८ वर्षीया मेगन लन्डनस्थित क्यानडाको उच्च आयोग गएर आतिथ्यका लागि धन्यवाद दिएका थिए ।

तपाईको प्रतिक्रिया