क्सीका कारण विश्वमा वार्षिक ३० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। विश्वभर व्याप्त रोगको पाँच प्रतिशत कारक पनि अल्कोहल नै हो। रक्सीकै कारण विश्वविख्यात साहित्यकार, अभिनेता र गायक–गायिकाको निधन भएको छ।

सन् १९२५ मा प्रकाशित ‘द ग्रेट ग्याट्सबी’ उपन्यास अझै पनि हरेक वर्ष पाँच लाख प्रति बिक्री हुने गर्छ। यो उपन्यासका लेखक एफ स्कट फिट्जेराल्डले भने ४४ वर्षकै उमेरमा रक्सीका कारण ज्यान गुमाएका थिए। अत्यधिक अल्कोहल र निकोटिन सेवनका कारण उनलाई अनेक थरी रोग लागेको थियो। म्याट्रिक पास गर्दादेखि नै उनी रक्सीको लतमा फसेका थिए। हरेक वर्ष बित्दै जाँदा उनको मानसिक र शारीरिक अवस्था झन्झन् खराब हुँदै गयो। पार्टीहरूमा जाँदा उनी मातेर टिल्ल पर्थे र मानिसहरूसँग झगडा गर्थे। सन् १९३३ देखि १९३७ का बीचमा रक्सीका कारण उनी आठ पटक अस्पतालमा भर्ना भए भने कैयौँ पटक जेल परे। अन्ततः सन् १९४० मा रक्सीले नै उनको ज्यान लियो।

विश्वभर हरेक दिन सात करोड लिटरभन्दा बढी शुद्ध अल्कोहल खपत हुने गर्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् २०१२ मा विश्वभर १९ करोड किलोलिटर बियर बिक्री भएको थियो। त्यस्तै, २४ अर्ब लिटर वाइन र २७ अर्ब लिटर अन्य मदिरा बिक्री भएको थियो।

रक्सीका कारण वार्षिक ३० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। हरेक २० जनाको मृत्युमा एक जनाको मृत्युको कारण अल्कोहल हुने गर्छ। विश्वभर व्याप्त रोगको पाँच प्रतिशत कारक पनि अल्कोहल नै हो।

पूर्वी युरोपमा सबैभन्दा बढी अल्कोहल खपत हुन्छ। प्रतिव्यक्ति हिसाबले बेलारुसमा सबैभन्दा बढी रक्सी खाइन्छ। त्यसपछि रुस, आयरल्यान्ड, लक्जमबर्ग र स्लोभाकिया आउँछन्। एक अध्ययनअनुसार विश्वमा सन् १९९० को तुलनामा अहिले अल्कोहल खपत ७० प्रतिशतले बढेको छ।

हरेक वर्षजसो कुलतका कारण कोही न कोही सेलिब्रिटीको ज्यान गइरहेको हुन्छ। उसो त अल्कोहलको लतबाट थुप्रै उम्किन पनि सफल भएका छन्। हलिउडका चर्चित निर्देशक तथा अभिनेता बेन एफ्लेक, जोनी डेप, ह्यारी पोर्टर अभिनेता डेनियल र्‍याडक्लिफ, ज्याक एफ्रोन, कोलिन फारेल मात्र होइन, पौडीका महान् खेलाडी माइकल फ्लेप्सले समेत अल्कोहलिजमसँग लड्नुपरेको थियो। अझ हलिउडमा त रक्सी र लागुऔषधको मिश्रणबाट ज्यान गुमाउनेको संख्या ठूलो छ।

डेविड बोवी

अंग्रेज रकस्टार डेविड बोवीको सन् २०१६ मा ६९ वर्षको उमेरमा निधन भयो। बीसौँ शताब्दीका सबैभन्दा प्रभावशाली संगीतकर्मीमध्ये एक मानिने बोवीको निधनको कारण कलेजोको क्यान्सर थियो। थुप्रै विशेषज्ञका दाबी अनुसार उनलाई यो रोग अल्कोहलका कारण लागेको थियो। सन् २००३ देखि नै बोवी अल्कोहलबाट मुक्त हुने प्रयास गरिरहेका थिए। उनी बारम्बार हेल्प ग्रुपका बैठकमा सहभागी पनि हुन्थे। अल्कोहल, लागुऔषध, खराब जीवनशैलीका कारण उनको स्वास्थ्य बिग्रिँदै गएको थियो। जीवनकालमा बोवीलाई छ पटक हृदयाघात भएको थियो।

ओ हेनरी

चकित तुल्याउने कथा लेख्थे, ओ हेनरी। समीक्षकले उति मन नपराए पनि पाठकहरूले उनका कथालाई खूब मन पराए। उनको चलाखी, चरित्र चित्रण र कथामा आउने ‘ट्विस्ट’का अझै थुप्रै प्रशंसक भेटिन्छन्। सन् १८६२ मा नर्थ क्यारोलिनामा जन्मेका उनी सन् १९०२ मा न्युयोर्क शहर बसाइँ सरे। त्यसपछि उनको लेखनले गति लिएको थियो। उनी जमेर रक्सी पिउँथे। जसको असर सन् १९०८ देखि नै देखिन थाल्यो। लेखन रोकियो। कलेजोसम्बन्धी रोगका कारण उनी १९१० मा बिते।

फ्र्यांकलिन डी पियर्स

अमेरिकाका चौधौँ राष्ट्रपति फ्य्रांकलिन डी पियर्सले लामो समय अल्कोहलिजमसँग लडाइँ गर्नुपर्‍यो। सन् १८५३ देखि १८५७ सम्म राष्ट्रपति बनेका उनले पटक–पटक रक्सीको लत त्याग्ने प्रयास गरेका थिए। तर, जीवनको अन्तिम समयतिर उनी बेस्मारी रक्सी पिउन थाले। सन् १८६९ मा उनको कलेजोको रोगका कारण मृत्यु भयो।

गीता दत्त

नेपाली फिल्म ‘माइतीघर’को गीतमा पनि स्वर दिएकी गीता दत्त भारतकी चर्चित गायिका थिइन्। सन् १९५३ मा उनले प्रसिद्ध निर्देशक तथा अभिनेता गुरु दत्तसँग विवाह गरिन्। उनीहरूका तीन सन्तान जन्मिए। तर, सन् १९५७ देखि नै गुरु दत्त र वहिदा रहमानबीच प्रेमसम्बन्ध कायम हुन थालेपछि गीता अल्कोहलको शरणमा गइन्। सन् १९६४ मा गुरु दत्त रक्सी र स्लिपिङ पिलको ओभरडोजका कारण बिते। धेरैले उनको मृत्युलाई आत्महत्या मान्छन्, किनभने यसअघि पनि उनले दुई पटक त्यस्तो प्रयास गरिसकेका थिए। गुरु दत्तको मृत्युपछि गीताको स्वास्थ्य र आर्थिक अवस्था खराब हुँदै गयो। उनले फिल्म खेलेर र गाएर खर्च जुटाउन थालिन्। तर, सन् १९७२ मा कलेजोको खराबीका कारण ४१ वर्षको उमेरमा उनको मृत्यु भयो।

एमी वाइनहाउस

कम उमेरमा प्रसिद्धि र सफलता पाउने कलाकारमध्ये एक थिइन्, एमी वाइनहाउस। उनका गीतको स्रोता–दर्शकले मात्र होइन, समीक्षकले पनि प्रशंसा गर्थे। सन् २००७ को ब्रिट अवार्डमा उनले उत्कृष्ट बेलायती कलाकारको उपाधि हात पारेकी थिइन्। तर, २७ वर्षकै उमेरमा अल्कोहलका कारण उनको मृत्यु भयो। मृत्युपछि निस्केको उनको एल्बम ‘ब्याक टू ब्ल्याक’ बेस्ट सेलर बनेको थियो।

ट्र्युम्यान क्यापोटे

अमेरिकी उपन्यासकार ट्र्युम्यान क्यापोटेका ‘बे्रकफास्ट एट टिफानिज’ र ‘इन कोल्ड ब्लड’जस्ता कृति चर्चित छन्। उनका रचनामा आधारित भएर २० भन्दा बढी फिल्म बनेका छन्। आफूलाई खुल्लमखुल्ला समलिंगी घोषणा गरेका क्यापोटेले अल्कोहलिजमसँग लामो संघर्ष गरे। सन् १९७० को दशकमा उनी बारम्बार उपचार केन्द्र धाउँथे। सन् १९८४ मा ५९ वर्षको उमेरमा कलेजोको रोगका कारण उनको मृत्यु भयो।

ज्याक केरुआक

अमेरिकी उपन्यासकार ज्याक केरुआक बिट मुभमेन्टका सुरुवातकर्ता मानिन्छन्। विलियम बरोज र एलेन गिन्सबर्गसँग मिलेर उनले यो अभियान सुरु गरेका थिए। उनी अत्यधिक रक्सी खान्थे। सन् १९६९ मा ४७ वर्षको उमेरमा उनको मृत्यु भयो। उनको ‘अन द रोड’ उपन्यास विश्वप्रसिद्ध छ।

किथ ह्वाइटली

सन् १९८९ मा उदाउँदा गायक किथ ह्वाइटली आफ्नै घरमा मृत भेटिए। मात्र ३४ वर्षका उनी अत्यधिक रक्सी सेवनका कारण मृत्युको मुखमा पुगेका थिए। जीवनकालमा मात्र दुई वटा एल्बम निकालेका उनका अनेकौँ गीत बिलबोर्डमा सूचीकृत भएका थिए।

रिचर्ड बर्टन

बर्टन प्रसिद्ध अभिनेता थिए। उनी ओस्करमा सात पटक मनोनयनमा परेका थिए। यद्यपि, यो उपाधि हात पार्न उनी असफल रहे। कुनै समय प्रसिद्ध अभिनेत्री एलिजाबेथ टेलरसँग विवाह गरेका थिए। सम्बन्ध–विच्छेदपछि ‘क्लियोपेट्रा’ फिल्ममा सँगै अभिनय गरेका थिए। सन् १९८४ मा ५८ वर्षको उमेरमा उनको मृत्यु भयो। उनले आफू अल्कोहलिजमसँग जुधिरहेको पटक–पटक सार्वजनिक गरेका थिए।

(एजेन्सीको सहयोगमा कवि आचार्य)

तपाईको प्रतिक्रिया