एजेन्सी । जापानी अर्बपति युसाका माइजावाले सन् २०२३ मा चन्द्रमा वरपर भ्रमण गर्दैछन् । योसँगै उनी चन्द्रमाको भ्रमण गर्ने पहिलो सर्वसाधारण बन्दैछन् । माइजावाले चन्द्रमाको भ्रमण विशेष महिलासँग गर्न चाहेको समेत बताएका छन् । हाल आफू महिला जीवन साथीको खोजीमा रहेको र आफ्नो भावी जीवन साथीलाई पनि आफूसँगै चन्द्रमाको भ्रमणमा लैजाने उनले बताएका छन् । अर्बपति माइजावाले स्पेस एक्समा चढेर चन्द्रमाको भ्रमण गर्ने उक्त र उक्त भ्रमणमा आफूसँग सँगै यात्रा गर्न भन्दै जीवन साथी खोजिरहेको बिबिसीले जनाएको हो ।

४४ वर्षीया माइजावा चन्द्रमाको भ्रमण जीवन साथीसँग गर्न चाहेको समाचारमा बताइएको छ । माइजावाले अनलाइनमार्फत् विशेष महिला वा श्रीमतिसँग चन्द्रमाको भ्रमण गर्न चाहेको बताएका हुन् । उनले जीवन साथी छनौट गर्न भन्दै आफ्नो वेभसाइटमा सूचना समेत निकालेका छन् । उक्त सूचनामा इच्छुक महिलाहरूलाई आवेदन दिन भनिएको छ । अर्बपति माइजावाले वेभसाइटमा केही शर्त राखेका छन् । ३ महिनाभित्र आवेदन प्रक्रिया पूरा हुने र उनको जीवन साथी छनौट गरिने उल्लेख छ ।

डेटिङ प्रोफाइल शैलीमा लेखिएका शर्तमा आवेदक महिला सिंगल हुनुपर्ने, २० वर्ष नाघेको हुनुपर्ने, सकरात्मक सोच राख्ने र अन्तरिक्षमा जाने रुचि भएको हुनुपर्ने जस्ता शर्त सामेल छन् । ‘एक्लोपना र खल्लोपनाले मलाई घेर्दै गरेको छ’, माइजावाले वेभसाइटमा लेखेका छन्, ‘एक महिलालाई माया गरिरहने बारे सोचिरहेको छु ।’ ‘म आफ्नो लागि जीवन साथी खोज्न चाहन्छु’, उक्त वेभसाइटमा माइजावाले लेखेका छन्, ‘भविष्यमा मेरी जीवन साथीसँग अन्तरिक्षमा गएर प्रेम र शान्ति बर्साउन चाहन्छु ।’

इच्छुक महिलाले जनवरी १७ सम्ममा आवेदन दिन सक्नेछन् । मार्च महिनाको अन्त्यसम्ममा उपयुक्त उम्मेदवारलाई माइजावाको जीवन साथीको रुपमा छनौट गरिने छ । पंक ब्याण्डको ड्रमर समेत बनेर लोकप्रिय बनेका माइजावाले मानिसलाई आकर्षण गर्न अनौठा-अनौठा काम गर्दै आएका छन् । यही महिनाको सुरुमा उनले आफ्नो ट्विट शेयर गर्ने मध्येबाट १०० जनामाझ ९ लाख २५ हजार अमेरिकी डलर प्रदान गर्ने बाचा गरेका छन् । ‘यसमा सहभागी हुन मलाई फलो गर्नुहोस् र मेरो ट्विट रिट्विट गर्नुहोस्’, उनले भनेका छन् ।

माइजावा जापानमा अनलाइनमार्फत् पोशाक बिक्री गर्दै आएको जोजी इन्कका संस्थापक हुन् । उनले फेशनबाट मनग्य कमाइ गरिसकेका छन् । उनीसँग हाल ३ बिलियन अमेरिकी डलर रहेको बताइन्छ । उनले आफूसँग भएको अधिकांश पैसा आर्टमा खर्च गर्छन् । गत वर्ष स्पेस एक्समार्फत चन्द्रमाको भ्रमण पहिलो निजी यात्रु हुने समाचार बाहिर आएपछि माइजावाको विश्वभर चर्चा भएको छ । स्पेस एक्सका मालिक अर्का चर्चित अर्बपति एलन मस्क हुन् ।

चन्द्रमा वरपर यात्रा गर्दा माइजावाले कति पैसा खर्च गर्दैछन् भनेर खुलाइएको छैन् । तर मस्कका अनुसार उनले निकै पैसा खर्च गर्न लागेको बताइएको छ । माइजावाले चन्द्रमा वरपर भ्रमण गर्ने क्रममा केही कलाकारलाई समेत आफ्नो यात्रामा सहभागी गराउने योजना बनाएका छन् । स्मरणीय छ, माइजावा र उनकी २७ वर्षीया प्रेमिका तथा अभिनेत्री आइनी गोरिकीबीचको प्रेम सम्बन्ध केही समय पहिला टुटेको थियो ।

तपाईको प्रतिक्रिया