काठमाण्डाै – अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट एघार ३७ रनले विजयी भएको छ । ११२ रनको लक्ष्य पछ्याएको अमेरिका ७४ रनमा समेटिन पुग्यो ।

बुधबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल, ओमान र अमेरिकाबीचकाे आईसीसी विश्वकप लिग २ अघि मंगलबार अभ्यास खेल आयोजना गरिएको हो । मुलपानी मैदानमा नेपाल प्रेसिडेन्ट ११ ले दिएको ११२ रनको सामान्य लक्ष्य पूरा गर्न अमेरिका असफल रह्यो । नेपालले पहिला ब्याटिङ गर्दै ३३।५ ओभरमा १११ रन बनाएको थियो ।

नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा सुवास खकुरलेलले ५२ रनकाे अविजित अर्धशतकीय पारी खेले । ८९ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे । यस्तै पवन सर्राफले १९ रन जोडे । बाँकी खेलाडी एकपछि अर्को रुपमा आउट भए । १५ रनमा पहिलो विकेट गुमाएको नेपाल ११ ले २४ रनमा दोस्रो तथा ६९ रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । ८१ रन बनाउँदा पाँच विकेट खेर फालेको नेपाल अन्ततः एक सय ११ रनमा अलआउट भयो ।
११२ रनको लक्ष्य पछ्याएको अमेरिकाको सुरुआत पनि राम्रो हुन सकेन ।

३ रन हुँदा पहिलो विकेट गुमाएको अमेरिकाले ३९ रन बनाउँदा ७ विकेट खेर फालेको थियो । अमेरिकाका स्टेभन टेलरले २८ तथा तिमिल पटेलले २० रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाएनन् । अमेरिका अन्ततः ३३।२ ओभरमा ७४ रनमा रोकियो ।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा नेपालका शेर मल्लले ४ विकेट लिँदा सागर ढकालले तीन तथा पवन शर्राफले २ विकेट लिए । १ विकेट भुवन कार्कीको नाममा रह्यो ।

तपाईको प्रतिक्रिया