काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्सले एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

फ्रेन्ड्सलाई जित दिलाउन सन्जोग महर्जन र वाग्नेर डी कार्मोले एक एक गोल गरे । पहिलो हाफमा एनआरटीसँग गोलरहित बराबरी खेलेको फ्रेन्ड्सले दोस्रो हाफमा दुई गोल गरेको थियो ।

खेलको ७८ औं मिनेटमा सन्जोगको गोलबाट फ्रेन्ड्सले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ८१ औं मिनेटमा ब्राजिलियन खेलाडी कार्मोले गोल गर्दै फ्रेन्ड्सलाई २–० को जित दिलाए ।

फ्रेन्ड्सको लिगमा यो चौंथो जित हो । जितसँगै फ्रेन्ड्सले १० खेलमा १४ अंक जोडेको छ । एनआरटीको यो तेस्रो हार हो । एनआरटीले १० खेलमा १५ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया