काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकाविरुद्ध जित दर्ता गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध ३५ रनको जित निकालेको हो । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको नेपालले ४९ दशमलव दुई ओभर खेल्दै १९० रन बनाएको थियो । नेपालका लागि करण केसीले चार विकेट लिए भने सुशन भारीले तीन विकेट लिए ।

सन्दीप लामिछानेले दुई विकेट हात पारे । त्यस्तै, कुशल मल्लको नाममा एक विकेट रह्रयो । खराब सुरुवात गरेको नेपालले अमेरिकालाई १९० रनको चुनौती दिएको थियो । नेपालका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि सुवास खकुरेल मैदानमा उत्रिए तर उनी व्यक्तीगत तीन रनमै पभेलियन फर्किए । कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । भने, उपकप्तान दीपेन्द्रसिंह ऐरीले खाता समेत खोल्न सकेनन् ।

पारस खड्का १९ रनमा आउट भए । खेलको २१ औँ ओभरमा आरिफ शेख दुई रन बनाएर पभेलियन फर्किए । बायाँ हाते अलराउण्डर कुशल मल्लले ५१ बल खेल्दै ५० रन बनाएर नयाँ रेकर्ड बनाए । तीन छक्का र चार चौकासमेत प्रहार गर्दै कुशलले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका हुन् ।

यस्तै विनोद भण्डारीले ५९ रन बनाए । उनले ७९ बल खेल्दै एक छक्का र छ चौका हाने । करन केसीले १२ तथा सुशन भारीले ११ रन बनाए । अमेरिकाका लागि क्यामरोन स्टिभनले तीन तथा रुस्टी थेरन र कप्तान सौरभ नेत्रवल्कारले दुई दुई विकेट लिए । करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले एक एक विकेट लिए । बुधबार नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया