काठमाडौं- विश्व फुटबलका महान खेलाडी पेले स्वास्थ्य अवस्थाका कारण घर बाहिर निस्कन मन नगर्ने अवस्थामा रहेको उनका छोराले बताएका छन् । तीनपटक विश्वकप फुटबलको उपाधि जितेका पेलेको स्वास्थ्य अवस्था हाल कमजोर छ ।

अरु कसैको सहयोग बिना हिँड्न नसक्ने अवस्थामा रहेका पेलेले घर बाहिर निस्कने इच्छा नै नगर्ने गरेको उनका छोराले बताएका हुन् । पेलेलाई गएको वर्ष युरिनरी इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको थियो ।

७९ वर्षका पेलेको हिपमा पनि केही समय समस्या देखिएको थियो । अहिले उनलाई हिँड्नका लागि फ्रेमको खाँचो पर्छ।

पछिल्लो समय भएका उनका अधिकांश सार्वजनिक उपस्थिति ह्वीलचियर मार्फत नै थिए । उनका छोरा एडिन्होले टिभी ग्लोबोसँग भनेका छन्, ‘उहाँ अति निश्क्रिय र एक्लै बस्न रुचाउने हुनु भएको छ ।’

पेलेले आफ्नो २१ वर्षको फुटबल जीवनमा १३ सय ६३ खेलमा कीर्तिमानी १२ सय ८१ गोल गरेका छन् । उनले ब्राजिलका लागि ९१ खेलमा ७७ गोल गरेका हुन् ।

तपाईको प्रतिक्रिया