डेनमार्कको राजधानी कोपनहेगको बहुचर्चित एउटा रेस्टुराँबाट अढाई करोड रुपैयाँ बराबर मूल्यको रक्सी डकैती भएको छ। फर्मल बि रेस्टुराँबाट सोमबार बिहानै सो चोरी भएको प्रहरीले जनाएको छ। यो रेस्टुराँलाई चर्चित पत्रिकाले पुग्नैपर्ने ठाउँका रुपमा उल्लेख गर्ने गरेका छन्।

त्यसो त यत्तिका मूल्य पर्ने धेरै बोतल भने चोरी भएको होइन। जम्मा ५० वटा बोतल हराउँदा यत्तिका विधि घाटा लागेको रेस्टुराँले जनाएको छ।

चोरी गर्नेहरुले रक्सी राखिएको ठाउँमा गएर बोतलहरु चोरेको र अन्य थप कुनै बदमासी नगरेको समाचारमा जनाइएको छ।

‘चोरी गर्नेले बडो बठ्याइँ गरेको देखिन्छ,’ रेस्टुराँले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उनीहरु सिधै रक्सी पाइने ठाउँमा गएर उठाई लिएर गए। अरु कुनै चिज उठाएका छैनन्। उनीहरुले रक्सी पनि त्यो मात्र चोरेका छन्, जसको बजार मूल्य निकै महँगो छ।’

२ लाख १७ हजार डलर बराबरको रक्सीहरु चोरिएको उजुरीपछि प्रहरीले चोरहरु पक्राउका लागि खोजी शुरु गरेको छ।

‘यत्तिका महँगा रक्सीहरु एकै रातमा चोरी भएपछि हामी आत्तिएका छौँ र यो समाचार बजारमा ल्याउनुको मूल कारण चाहिँ यस घटनाबारे जान्ने साथीभाइहरुले यसबारे जानकारी दिई सहयोग गर्नुहुनेछ भन्ने नै हो,’ विज्ञप्तिमा भनिएको छ, ‘बरु हामी कसैलाई कार्बाहीका लागि सिफारिस गर्ने छैनौँ। त्यत्रो महँगो रक्सी सुरुक्क फिर्ता पाइयोस् भन्ने मात्र चाहन्छौँ।’

प्रहरीले भने उजुरी दर्तापछि अब प्रहरीले काम थालिसकेको र केही दिनभित्रै चोरहरु पक्राउ पर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया