जाडोको समयमा चिसोका कारण धेरै पटक भोक लाग्ने गर्छ । जाडोमा तातो खानेकुरा खानाले जिउ तातो हुन्छ । जाडोमा विभिन्न सब्जीहरूमा पाइने पोषक तत्वले भरिएको थुक्पा खाँदा जाडो भागेर शरीर न्यानो हुनुका साथै यसलाई पकाउने विधि पनि एकदम सजिलो हुन्छ ।

बजारमा सजिलै किन्न पाइने विभिन्न सब्जीहरूको प्रयोग गरिएर पकाएको थुक्पाले शरीरलाई उर्जा दिनुका साथै फाइदा पनि गर्छ । थुक्पामा घरमा सजिलै पाइने विभिन्न भेजिटेबल राखेर पकाउन सकिन्छ । धेरै समय नलाग्ने, जाडोमा चिसो भगाउने तथा फरक स्वादका लागि मानिसहरू थुक्पा खान निकै रुचाउँछन् ।

मीठो, छिटो र स्वादिलो बनाएर खानका लागि दिएको बेग्लै तरिका अपनाउन सकिन्छ । तरिका सजिलो पनि रहेको छ ।

थुक्पा बनाउन चाहिने सामग्री– उमालिएको थुक्पा नुडल्स, मसिनो गरेर काटेको भेजिटेबलहरू (गाँजर, क्याप्सिकम, बन्दा, मटर, प्याज, काउली, सिमीको प्रयोग गर्न सकिन्छ) टमाटरको पेस्ट, प्याज, लसुनअधुवाको पेस्ट, नुन, खुर्सानी, मसला, हरियो धनियाँ, बेसार, दुई चम्चा तेल, सोया सस, कागती ।

थुक्पा बनाउने विधि– एउटा भाडोमा तेल राखेर सानो–सानो गरी काटिएको सब्जीहरू भुट्ने, खैरो भएपछि राम्रोसँग चलाउने र फ्राइ हुन छाडिदिने र फ्राई भएपछि सब्जीलाई छुट्टै निकाल्नु पर्छ । बचेको तेलमा प्याज, लसुन अधुवाको पेस्ट राखेर भुट्ने, त्यसपछि टमाटर, बेसार, नुन, खुर्सानी, मसला तथा सोया सस हालेर राम्रोसँग चलाएर पकाउने ।

टमाटर मसलासँग गल्न सुरु भएपछि माथिका सबै सब्जीहरू राम्रोसँग मिक्स गर्नुहोस् । यी सब्जीहरू काँचै खान मिल्ने भएकोले दुई–तीन मिनेट मात्रै पकाउँदा पुग्छ । सबै सब्जीहरू टमाटरसँग भुटेपछि आफूलाई चाहिनेअनुसार पानी राखेर उमालेर यसमा थुक्पा नूडल्स राखेर बिस्तारै चलाउने । चलाउँदै एक मिनेट पकाएपछि हरियो धनियाँ र कागतीको रस निचोरेर चिसोमा तात्तातो भेजिटेबल थुक्पाको मजा लिन सक्नु हुन्छ ।

तपाईको प्रतिक्रिया